समाचार

टिकटकमा प्रतिबन्ध फुकुवा! अब नेपाली प्रयोगकर्ताले के पाउनेछन्?

टिकटकमा प्रतिबन्ध फुकुवा! अब नेपाली प्रयोगकर्ताले के पाउनेछन्?

नेपाल सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाएको छ। बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो, जसको जानकारी सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले दिएका छन्।

गुरुङका अनुसार टिकटकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिकाअनुसार दर्ता हुन सहमति जनाएकाले प्रतिबन्ध फुकुवा गरिएको हो। अब टिकटकले सरकारका सर्तहरू पूरा गर्ने गरी सहमति गर्नुपर्नेछ। ती सर्तहरूमा टिकटकमा प्रयोग हुने भाषाको नियमन गर्न अधिकारी तोक्ने, नेपालको पर्यटन, डिजिटल शिक्षा तथा सुरक्षामा सहयोग पुर्‍याउने लगायतका सर्तहरू छन्।

गुरुङले थपे, "अब टिकटकजस्तै अन्य सामाजिक सञ्जालहरू पनि नेपालमा दर्ता हुनुपर्नेछ र सरकारले राखेका सर्तहरू पालना गर्नुपर्नेछ।"

सञ्चार मन्त्रालयले बुधवार केही सर्तहरूसहित टिकटकमाथिको प्रतिबन्ध हटाउने प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको थियो। सरकारको निर्णय आउनुअघि नै केही इन्टरनेट सेवा प्रदायकहरूमा टिकटक चल्न थालेको प्रयोगकर्ताहरूले बताएका थिए।

गत वर्ष नोभेम्बर दोस्रो साता सरकारले "सामाजिक सद्भाव र वातावरणमा खलल पुर्‍याउन भूमिका खेलेको" भन्दै नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो। यद्यपि, भीपीएन प्रयोग गरेर धेरै प्रयोगकर्ताहरूले टिकटक चलाइरहेका थिए।

टिकटकले नेपालमा पुनः सञ्चालन गर्न आग्रह गर्दै सातौँ पत्र पठाएपछि सरकारले यसबारे छलफल थालेको थियो। 

सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाएको खबर आएपछि सामाजिक सञ्जालमा कतिपयले यसलाई सकारात्मक कदमको रूपमा लिएका छन्।