समाचार

सर्वोच्चको अन्तरिम आदेश: ३० वर्षे सेवा अवधि पुगेका प्रहरी अधिकारीहरूको अवकाश तत्काल रोकियो

सर्वोच्चको अन्तरिम आदेश: ३० वर्षे सेवा अवधि पुगेका प्रहरी अधिकारीहरूको अवकाश तत्काल रोकियो

काठमाडौं – सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका प्रहरी अधिकारीलाई तत्काल अवकाश नदिन अन्तरिम आदेश दिएको छ।

१६ भदौमा अवकाश हुन लागेका २१ प्रहरी अधिकारीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले उनीहरुलाई अवकाश नदिन अन्तरिम आदेश दिएको हो।

सर्वोच्चले यसअघि बृहत पूर्ण इजलासले दिएको निर्देशनात्मक आदेश पालना नगरिएको भन्दै उनीहरूको हकमा जिम्मेवारी परिवर्तन नगराउन पनि अन्तरिम आदेश जारी गरेको छ।

सर्वोच्चले यो विवादमा विपक्षीसँग लिखित जवाफ माग गर्दै १० असोजमा पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश दिएको छ।

प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठसहित नेपाल प्रहरीका २१ जना अधिकारीले आफूहरूलाई ३० वर्षे सेवा अवधिका आधारमा १६ भदौमा अवकाशमा पठाउन खोजिएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरी किताबखानालाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दिएका थिए।