समाचार

एकल पुरुषहरूले २३ लाख २७ हजार भत्ता प्राप्त गरे

एकल पुरुषहरूले २३ लाख २७ हजार भत्ता प्राप्त गरे

ईलाम/देउमाई नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा १ सय ९८ जना एकल पुरुषलाई २३ लाख २७ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ। यो भत्ता ६० वर्ष पुगेका अविवाहित, पत्नीसँग सम्बन्धविच्छेद भई विवाह नगरेका, र पत्नीको मृत्यु भई अर्को विवाह नगरेका पुरुषलाई मासिक एक हजारका दरले प्रदान गरिएको हो।

यसअघि, आर्थिक वर्ष २०७९/८० मा देउमाई नगरपालिकाले २ सय ७ जना एकल पुरुषलाई २४ लाख ८४ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको थियो। ‘एकल पुरुष भत्ता वितरण सम्बन्ध कार्यविधि’ अनुसार यो भत्ता वितरण गरिएको लेखा अधिकृत गजेन्द्र एक्तेनले जानकारी दिएका छन्।

त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा ४५ वर्ष पुगेका अविवाहित ९१ महिलालाई १० लाख ८९ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। मासिक एक हजारका दरले भत्ता प्रदान गरिएको यस कार्यक्रममा अघिल्लो वर्ष २०७९/८० मा ८८ जना महिलाले १० लाख ५६ हजार भत्ता प्राप्त गरेका थिए।

तेस्रो लिङ्गीका लागि मासिक पाँच सयको भत्ता उपलब्ध गराउने व्यवस्था भए पनि यस वर्ष कसैले भत्ता लिनको लागि आवेदन नगरेको लेखा अधिकृत एक्तेनले बताए। त्यस्तै, ‘ग’ वर्ग अपाङ्गता भएका ९२ जनालाई आर्थिक वर्ष २०८०/८१ मा ५ लाख ४५ हजार पाँच सय भत्ता प्रदान गरिएको छ।

यसैबीच, देउमाई नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि नगरपालिकाको तर्फबाट वितरण हुँदै आएको ‘सामाजिक सुरक्षा कार्यक्रम’ स्थगन गर्ने निर्णय गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र प्राप्त भएपछि कार्यपालिका बैठकले यो निर्णय गरेको हो। 

सामाजिक सुरक्षा कार्यक्रम स्थगन भए तापनि, देउमाईले सुत्केरी स्याहार, दाहसंस्कार, र दीर्घरोगी सहयोग कार्यक्रमलाई भने निरन्तरता दिएको छ। सुत्केरी स्याहार कार्यक्रम अन्तर्गत रु पाँच हजारका दरले दुई पटकसम्म, दाहसंस्कारमा रु पाँच हजार र दीर्घरोगीलाई एकपटक रु पाँच हजारको सहयोग प्रदान गर्दै आएको छ।