समाचार

नेपाली सेनाले हेलिकोप्टरमार्फत भारतीय बस दुर्घटनाका १२ यात्रुको उद्धार गर्‍यो

नेपाली सेनाले हेलिकोप्टरमार्फत भारतीय बस दुर्घटनाका १२ यात्रुको उद्धार गर्‍यो

तनहुँको आँबुखैरेनीमा आज बिहान भएको भारतीय नम्बर प्लेटको यात्रुवाहक बस दुर्घटनामा घाइते भएका १२ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौं ल्याइएको छ। यी घाइतेहरूको उपचार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा थालिएको छ।

दुर्घटना तनहुँको आँबुखैरेनी गाउँपालिका-२, ऐनापहरामा भएको हो। यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस पोखराबाट काठमाडौं आउँदै गर्दा मर्स्याङ्दी नदीमा खसेको थियो। यस दुर्घटनामा हालसम्म १४ जनाको निधन भएको छ भने ३९ जनाको घटनास्थलमा उद्धार गरिएको छ। अझै चार जना बेपत्ता रहेको जानकारी प्राप्त भएको छ।

चितवनको नारायणघाट–मुग्लिङ्ग सडकखण्डमा पनि आज दिउँसो अर्को दुर्घटना भएको छ। भरतपुर महानगरपालिका-२९ स्थित १७ किलोमा गुडिरहेको यात्रुवाहक बसमाथि ढुंगा खस्दा २५ जना घाइते भएका छन्, जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरूलाई भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज, र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

यो दुर्घटना रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमा भएको थियो। ढुंगा खसेपछि बस अनियन्त्रित भई सडकमै पल्टिएको थियो। बसमा ३४-३५ जना यात्रु सवार थिए, जसमध्ये २५ जना घाइते भएका छन्।

तनहुँको घटनामा ४३ जना सवार रहेको बस दुर्घटनामा ३९ जनालाई उद्धार गरिएको छ भने चार जना अझै बेपत्ता छन्। उद्धार कार्य जारी रहेको छ।