समाचार

के नरेश भट्टलाई मृत्युदण्ड हुन्छ? कानूनी स्थिति के छ?

के नरेश भट्टलाई मृत्युदण्ड हुन्छ? कानूनी स्थिति के छ?

करुणा बिना घर चाहे करोडौंको किन नहोस्, त्यो घर नर्क नै ठहरिन्छ। अमेरिकी प्रहरीले पूर्वसेनानी नरेश भट्टलाई श्रीमती ममता भट्टको शव लुकाएको आरोपमा पक्राउ गरी मुद्दा दायर गरेपछि यो सन्देश संसारभरका नेपालीहरूमाझ चेतनाको झट्का जस्तै फैलिएको छ।

नरेश भट्टविरुद्ध हाल प्रारम्भिक रूपमा शव लुकाएको आरोपमा मुद्दा चलेको छ। अनुसन्धानका क्रममा प्रहरीले घरबाट भेटिएका प्रमाणहरू र विधिविज्ञान प्रयोगशालाको रिपोर्टको आधारमा ममता भट्टको हत्या घरमै भएको निष्कर्ष निकालेको छ। थप प्रमाणका आधारमा नरेशमाथि हत्या, झूठो बयान दिएको, अनुसन्धानलाई भ्रामक बनाउन खोजेको, र आफ्नी नाबालिका छोरीलाई अपराध स्थलमा राखेको लगायतका अन्य गम्भीर आरोपमा पनि मुद्दा चल्न सक्छ। उनीविरुद्ध आजीवन कारावासको माग उठ्न सक्छ। भर्जिनिया राज्यमा तीन वर्षअघि मात्र मृत्युदण्डको सजाय हटाइएकोले उनी मृत्युदण्डबाट भने जोगिएका छन्। तर, हालसम्म अनुसन्धान जारी रहेकाले प्रमाणित नहुँदासम्म उनलाई आरोपी मात्र मानिनेछ।

नरेश भट्टका बारेमा सार्वजनिक भएका विवरणहरू अनुसार, उनी आर्थिक रूपले सुदृढ थिए। सेवामा रहेकै बेला उनले राम्रै हैसियत बनाएका थिए। सेवानिवृत्त अपाङ्ग सैनिकको रूपमा उनको मासिक भत्ता राम्रै (नेपाली करिब ५ लाख) थियो। उनले ह्वाइट हाउससँग सम्बन्धित काम पनि थालेका थिए। उच्च आचरणका व्यक्तिले मात्र पाउने भनिएको आईटी क्षेत्रको जागिरमा समेत संलग्न थिए। उनले हालै मात्र करोडौं रुपैयाँको घर किनेका थिए। ममता पनि पेसाले रजिस्टर्ड नर्स थिइन्, जसले गर्दा उनीहरूलाई राम्रो अवसर प्राप्त थियो। बाहिरी दृष्टिले हेर्दा उनीहरूसँग सबैथोक थियो, तर अहिले सबथोक गुम्न लागेको छ।

ममता भट्ट हराएपछि उनका सहकर्मीहरू र नेपाली समुदायले उनको खोजीका लागि निरन्तर दबाब कार्यक्रमहरू गर्दै आएका थिए। प्रहरीले घरमा खानतलासी र क्राइम सिनको रूपमा घेराबन्दी नगर्दासम्म नरेश भट्ट खोजी अभियानमा सहभागी र वक्ता समेत थिए।

यो घटनामा नरेश एक्लैले मात्र संलग्न थिए कि अरू कसैले पनि मतियारको रूपमा सहयोग गरे भन्ने विषय अझै स्पष्ट भएको छैन। तर, समुदायले उठाएका प्रश्नहरूका बाबजुद उनलाई समर्थन गर्नेहरू पनि छन्। भनाइअनुसार, ममताले धेरै पहिलेदेखि न्यायको खोजी गरिरहेकी थिइन्। उनले केही नेपाली मूलका वकिलसँग कानूनी सहयोगका लागि सोधपुछ गरेकी थिइन्, तर प्रारम्भिक शुल्क दाखिला नगरी परामर्श सेवा नपाउँदा वा विषयलाई हल्का रूपमा लिनुका कारण ममताले न्याय पाउनुअघि नै अपराधको शिकार हुनु परेको गुनासो पनि सुन्नमा आएको छ।

नेपाली समुदायले ममताको खोजीका लागि देखाएको सक्रियता मनासस पार्क प्रहरीले समेत अद्वितीय मानिरहेको छ। पूरै समुदाय दिनरात नभनी खोजीमा जुटिरहेको छ। अन्य समुदाय, विशेषगरी ममताका सहकर्मीहरूको सक्रियता पनि उल्लेखनीय छ। ममताको खोजी अभियानमा सहयोग पुर्याउन र उनकी एक वर्षीया छोरीको हेरचाहका लागि गोफण्डमार्फत विभिन्न आर्थिक अभियानहरू सञ्चालनमा छन्। छोरीको संरक्षणका लागि धेरैले चासो देखाएका छन्। ममताको बेपत्तापछि उनकी छोरीको पहिलो जन्मदिन धर्नाकै बीचमा मनाइएको दृश्य अत्यन्त मार्मिक थियो।

यो घटनाले प्रष्ट पारेको छ कि करुणा बिनाको घर, चाहे कति नै महँगो किन नहोस्, त्यो घर नर्क हुन जान्छ। करोडौं कमाउने व्यक्ति पनि मति बिग्रिएपछि कौडीको भइदिँदो रहेछ। सम्बन्ध बिग्रिएर अपराधमा परिणत हुनु अघि नै छुट्टिनु उत्तम हुन्छ। यो निर्दयी घटनाले कठोर सन्देश छाडेको छ। 

वरिष्ठ पत्रकार नारायण पौडेलले फेसबुकमा लेखेका छन्, “करुणा बिनाको घर करोडौंकै किन नहोस, त्यो नर्क रहेछ। अमेरिकी प्रहरीले अमेरिकी सेनाका सेवानिवृत्त नरेश भट्टलाई श्रीमतीको लास गाहेब पारेको अभियोगमा पक्राउ गरी मुद्दा दायर गरेपछि यो सन्देश विश्वभर रहेका नेपालीको चेत खुलाउने गरी प्रवाहित भएको छ।” 

यो सामग्री भर्जिनिया, अमेरिका बसोबास गर्ने चर्चित वरिष्ठ पत्रकार नारायण पौडेलको फेसबुक पोस्टको आधारमा तयार पारिएको हो।

 

थप पढ्नुहोस्


विवाहिता हराइरहेकी बेला नरेश भट्टको अचम्मको व्यवहार: प्रहरीको खुलासा!

ममता काफ्ले भट्ट