गौशाला २६ मुद्दा: न्यायको खोजीमा सामाजिक दबाब र विवादका नयाँ मोड!
 
                                अभिनेता पल शाहलाई बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद र १० लाख रुपैयाँँ पीडितलाई क्षतिपूर्ति तोकिएको थियो। पछि उनले सफाइ पाए।
समाजले कानूनी मान्यता र सामाजिक मान्यतालाई बेवास्ता गर्दै ती कलिली गायिकालाई '१० लाख' भन्दै लामो समयसम्म ट्रोल गर्यो। पीडितलाई समाजले यस्तो अवस्थामा पुर्यायो कि उनी बयान फेर्न बाध्य भइन्। त्यति बेला, अभिनेता पल शाह जेलबाट रिहा हुँदा स्वागत गरियो, मानौं उनले राम्रै काम गरेर आएका हुन्। हाल गौशाला २६ मुद्दामा पनि यस्तै भएको देखिन्छ। क्रिकेटर सन्दीप लामिछानेलाई विश्वास गरेर सबैथोक सुम्पिएकी ती किशोरी समाजका कारण 'मैदान' बाट बाहिरिनु परेको निष्कर्षमा पुगेकी छिन्।
यसबीच, उनले मुद्दा अगाडि नबढाइदिन भन्दै महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिएकी छिन्। उनले निवेदनमा समाजले आफूलाई ‘मर्नु न बाँच्नु’को अवस्थामा पुर्याएको उल्लेख गरेकी छिन्। लामिछानेले नेपाली क्रिकेटलाई विश्वमाझ चिनाएका छन् भन्नेमा कुनै संशय छैन। नेपालमा मात्र नभएर बाहिरी मुलुकमा पनि उनको क्रेज छ। तर, त्यही लोकप्रियता एउटी किशोरीका लागि न्यायको अवरोध बनेको छ, जसले गर्दा उनले न्यायको मैदान छोड्नुपरेको छ।
काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएका सन्दीपलाई उच्च अदालत, पाटनले सफाइ दिएको छ। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले वयस्क पुरुष र महिलाले सहमतिमा राखेको शारीरिक सम्बन्धलाई जबरजस्ती करणी मान्न नमिल्ने व्याख्या गरेको छ। लामिछानेले अनुसन्धानका क्रममा र अदालतमा राखेको इन्कारी बयान, गौशाला २६ ले पठाएको म्यासेज, शारीरिक परीक्षण प्रतिवेदन, घटनास्थलको मुचुल्का, र अन्य प्रमाणहरूले अभियोग पुष्टी नभएको निष्कर्ष अदालतले निकालेको छ।
तल्लो अदालतको फैसलामा चित्त नबुझेमा माथिल्लो अदालतमा पुनरावेदन गर्न पाइन्छ। बलात्कार सरकारवादी मुद्दा भएकाले सरकारी वकिल कार्यालयले पुनरावेदन गर्छ। फैसलाको पूर्णपाठ आएपछि गौशाला २६ ले सर्वोच्च अदालतमा गुहार्न चासो देखाइनन्, बरु महान्यायाधिवक्ताको कार्यालयमा पुगेर मुद्दा टुंग्याउन निवेदन दिइन्। उनले मानसिक तनाव भएको र त्रासपूर्ण जीवन जिउनुपरेको निवेदनमा उल्लेख गरेकी छिन्।
उनले शान्तिपूर्ण जीवन जिउन चाहेको भन्दै मुद्दाको काम कारबाही अगाडि नबढाउन निवेदनमा लेखेकी छिन्, ‘लामो समयदेखि त्रासपूर्ण जीवन बाँच्दै आएकी छु। अदालतको निर्णयलाई सम्मान गर्दै त्रासरहित जीवन जिउनु मेरो प्राथमिकता हो।’
यो घटनाले मुलुकको न्याय प्रणालीको अवस्था चित्रण गर्छ। न्यायको बाटोमा हिँड्दा अपजस, गाली, बेइज्जती र तनावबाहेक केही पाइँदैन। बलात्कार पीडितलाई न्याय पाउन निकै गाह्रो छ। सामाजिक सञ्जालमा पीडितलाई ट्रोल गरिन्छ, चरित्र हिलो छ्यापिन्छ, जसका कारण पीडित न्याय नपाउँदै पाखा लाग्छन्।
सरकारी वकिल कार्यालयले भने मुद्दा अगाडि बढाउने निर्णय गरेको छ। उनीहरू सर्वोच्च अदालतमा पुनरावेदन गर्ने तयारीमा छन्। ‘बलात्कारको मुद्दामा विभिन्न दबाब आउँछ, तर सरकारी मुद्दा भएकाले निवेदन दिएर केही फरक पर्दैन, मुद्दा अगाडि बढ्छ नै,’ एक अधिकारीले भने।
 
                         
                                                         
                                                         
                                                