अमेरिकाको गोप्य चलखेल नेपालमा, को को संलग्न?

अमेरिकाको गोप्य चलखेल नेपालमा, को को संलग्न?

सरकारको नेतृत्व गर्नेहरू नै ‘मूर्दावाद’ को नारा लगाउँदै सडकमा उत्रिने कुरा विश्वास गर्न गाह्रो पर्न सक्छ ! तर, यस्तो घटना नेपालमै देखिएको छ, त्यो पनि प्रधानमन्त्रीकै दलबाट। नेकपा (एमाले)को पछिल्लो सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध उठिरहेको असन्तुष्टिको स्वर दबाउन प्रतिवादको नीति अपनाउनुपर्ने धारणा राखेपछि सत्तारुढ दल नै सडक संघर्षमा उत्रिने अनौठो अवस्था देखिएको हो।

गौरापर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा ओली र उहाँका सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध केही युवाहरूले ‘मूर्दावाद’ को नारा लगाएका थिए। ‘आइ लभ यु केपी बा’ को नारा सुन्ने र युवासंघको एस्कर्टिङमा हिँड्ने बानी परेका ओलीको सामुन्ने ‘...चोर देश छोड’ भन्ने नारा लाग्दा पनि पार्टीपंक्तिले प्रतिवाद नगरेकोमा ओलीले बैठकमा आक्रोश व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, "पार्टीका कुनै पनि संगठन काम लाग्ने खालका छैनन्। आउनसक्ने कुनै पनि संकट सामना गर्न सक्ने छैनन्। युवासंघ त झन् कामै नलाग्ने भयो, यसले केही गर्न सक्दैन। अहिले जुन प्रकारले अराजकता मच्चाइएको छ, त्यो मुख्य नेतृत्वविरुद्ध केन्द्रित छ। त्यसैले हामीले जनप्रदर्शन गर्नुपर्छ।"

आफूविरुद्ध भएको नाराबाजीको प्रतिवाद नगरेकोमा रिसाएका ओलीले युवाहरूको आक्रोशलाई विदेशी शक्तिहरूको चलखेलको रूपमा अथ्र्याउनुभयो। "बंगलादेशमा जस्तै यहाँ पनि गराउने प्रयास हुँदैछ। संसारभर यस्तो गराउने भनेको अमेरिकाले हो," ओलीको भनाइ उद्धृत गर्दै एमाले स्रोतले भन्यो। उहाँले सेना र पुलिसले साथ नदिएमा आफ्नै शक्ति परिचालन गर्नुपर्ने धारणा पनि व्यक्त गर्नुभयो।

ओलीले पार्टीका कार्यकर्ताहरूलाई प्रतिवाद गर्न हौस्याउँदै भन्नुभयो, "जसले प्रतिवाद गरेको छ, उसलाई देशभरबाट समर्थन बढेको छ। जो चुप बसेको छ, त्यो ठीक भएन।" उहाँले काठमाडौँमा एक लाख मानिसको प्रदर्शन गर्ने प्रस्ताव समेत बैठकमा राख्नुभयो।

अब प्रश्न उठ्छ, प्रधानमन्त्रीको कुर्सीमा बसेर सडकमा कार्यकर्ता उतार्नुपर्ने अवस्थामा देशको राजनीति पुगेको हो? के ओलीले भनेजस्तै, सात समुद्रपारिको कुनै शक्तिले सत्ता ढाल्न युवाहरूलाई प्रयोग गर्दैछ? विश्लेषकहरूका अनुसार, कांग्रेस–एमाले गठबन्धन हुँदा अमेरिकाले केही अपेक्षा राखेको थियो, जसलाई पूरा गर्न असम्भवजस्तै भएको छ। तीमध्ये एसपीपी पास गर्ने र तिब्बती शरणार्थीको नयाँ दर्ता खोल्ने मागहरू प्रमुख छन्। यी मुद्दाहरूमा बढ्दो दबाबले गर्दा ओलीले पार्टी बैठकमा आक्रोश पोख्नुभएको हुनसक्छ।

यसै सन्दर्भमा विदेशमन्त्री हेनरी किसिञ्जरको भनाइ स्मरणीय छ, "अमेरिकाको शत्रु बन्न असम्भव छ, मित्र बन्न सजिलो छैन।" पाँच दशकपछि पनि नेपालजस्तो तेस्रो मुलुकका देशहरू अमेरिकासँगको सम्बन्धमा त्यस्तै अवस्थामा छन्। अमेरिकासँग मित्र बनेर सुख छैन, तर शत्रु बन्दा झन् खतरा। अमेरिकाले आफ्ना धेरै मित्रहरूलाई समयक्रममा समाप्त गरेको इतिहास छ।

तर, के ओलीको दाबी अनुसार, सरकार ढाल्ने प्रत्यक्ष खेलमा अमेरिका संलग्न छ? इतिहासले त्यस्तो देखाउँदैन, यद्यपि ठूला र रणनीतिक मुद्दामा अमेरिकी स्वार्थ नेपालमा नभएको होइन। यसै बीच, ओलीको अभिव्यक्तिलाई विश्वास गर्ने आधार भने कमजोर छ। उहाँले प्रायः केहि भने पनि त्यसको विपरीत हुने गरेको छ। जस्तो कि, संसद विघटनअघि ओलीले नेताहरूसँग ‘मैले त्यस्तो काम गर्छु, त्यस्तो सोच्ने कुरा हो?’ भनेको दुई दिनपछि संसद विघटन भयो।

कांग्रेसको समर्थन रहुन्जेल सरकार ढल्ने अवस्था रहँदैन, तर प्रधानमन्त्री ओलीको छटपटीले भित्रभित्रै केही योजनाबद्ध हुँदै गरेको संकेत देखिन्छ। कांग्रेसका सभापति देउवाले ओलीलाई धोका दिन लागेकै हुन् त? विश्लेषकहरूका अनुसार, पछिल्ला गठबन्धनहरूमा दलहरूले एकअर्कालाई धोका दिएको इतिहास छ।

संम्बधित खबर