समाचार

ओली सरकार र बालेन शाहबीचको टकराव: एमाले सांसदले नाबालिकामाथि हिंसा?

ओली सरकार र बालेन शाहबीचको टकराव: एमाले सांसदले नाबालिकामाथि हिंसा?

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मामाथि गम्भीर आरोप लगाउँदै फेसबुकमा कडा टिप्पणी गरेका छन्। नेकपा एमाले अहिले सत्तारूढ दल हो, र यस पार्टीका अध्यक्ष खड्ग प्रसाद ओली प्रधानमन्त्रीको रूपमा सरकारको नेतृत्व गर्दैछन्। बालेन शाह र ओली सरकारबीच सम्बन्धमै सौहार्द छैन, जसका कारण शाहका आलोचनात्मक टिप्पणीहरू चर्चामा रहँदै आएका छन्।

शाहका अनुसार, सांसद शर्माले विगत ८ वर्षदेखि एक नाबालिकालाई घरेलु कामदारको रूपमा बन्धक बनाएर हिंसा गर्दै आएकी छिन्। बालिकामाथि दैनिक रूपमा कुटपिट भएको आरोप लगाइएको छ, तर ओली नेतृत्वको सरकारले कारबाही अगाडि बढाएको छैन। शाहले लेखेका छन्, "काठमाडौं महानगरले विगत २ महिना देखी कारबाही अगाडि बढाउन खोज्दा पनि सरकारले कुनै कदम चालेको छैन। अदालतले समेत मुद्दा चलाउन भनेको भए पनि अहिलेसम्म कारबाही अघि बढेको छैन।"

प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै शाहले थप लेखेका छन्, "सम्माननिय प्रधानमन्त्री ओली ज्यु, सुशासन भनेको के तपाईंको सांसदलाई बाल शोषणको आरोप लाग्दा पनि कारबाही नगर्नु हो? कि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना दिनु मात्र हो?"

शाहले सरकारको जवाफ माग्दै, बालिकाको सुरक्षाको विषयलाई लिएर कडा प्रश्न उठाएका छन्। यसले ओली सरकार र बालेन शाहबीचको तनावपूर्ण सम्बन्धलाई थप उजागर गरेको छ।