राजनीति

पूर्वमुख्यमन्त्री केदार कार्कीले ४२ दिनका शिशुको हातबाट जुस पिएर तोडे अनसन

पूर्वमुख्यमन्त्री केदार कार्कीले ४२ दिनका शिशुको हातबाट जुस पिएर तोडे अनसन

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनसन तोडेका छन्। जनताको जित भएको र आफ्ना मागहरू सम्बोधन गरिने सहमति भएपछि अनसन तोडेको बताएका छन्।

मंगलबारदेखि सुरु गरेको आमरण अनसनप्रति बाध्य भएर कोशी प्रदेश सरकारले सहमति जनाएपछि बुधबार राति ९:२० बजे कार्कीले ४२ दिनका दुधे बालक शिवशंकर बहादुर शर्माको हातबाट जुस पिएर अनसन समाप्त गरेका हुन्। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलावल्लभ अधिकारी र कार्कीबीच कार्कीका मागहरू सम्बोधन गर्ने सहमति भएको थियो।

पूर्वमुख्यमन्त्री कार्कीले आफ्नो सरकारका लोकप्रिय कार्यक्रमहरू कटौती भएको विरोधमा विराटनगरको देवकोटा चोकमा अनसन थालेका थिए। उनका प्रमुख मागहरूमा १० वर्षमुनिका बालबालिकाका लागि निःशुल्क उपचार र विशेष सेवाहरू उपलब्ध गराउनु पर्ने, बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति लागु गर्नुपर्ने, शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको सञ्चालन गर्नुपर्ने लगायतका मुद्दाहरू रहेका थिए।

उनले महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता दिनुपर्ने, घिउ र धूलो दूधको निर्यातमा प्रोत्साहन रकम वितरणको कार्यक्रम कायम राख्नुपर्ने, सुनसरी-मोरङ केसलिया करिडोरको विकासका लागि पर्याप्त बजेट सुनिश्चित गर्नुपर्ने, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीहरूलाई छात्रवृत्ति दिनुपर्ने, विभिन्न क्षेत्रका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिनुपर्ने, र जनावरमैत्री जंगल निर्माण गर्नुपर्ने जस्ता मागहरू उठाएका थिए।

कार्कीले अनसन तोड्ने क्रममा विराटनगरका निर्मला शर्माको ४२ दिनका छोरा शिवशंकर बहादुर शर्माको हातबाट जुस पिए। यसै बालकलाई आर्थिक अभावका कारण ७ दिनसम्म अस्पतालमा आमाको दूध खान नसक्ने अवस्था भएपछि कार्कीले पहल गरेर निःशुल्क रूपमा घर पुर्याएका थिए।