समाचार

चिनियाँ नाकामा नेपाली व्यापारीमाथि दुर्व्यवहार, सुरक्षाकर्मी र व्यापारीको मनपरीको गुनासो

चिनियाँ नाकामा नेपाली व्यापारीमाथि दुर्व्यवहार, सुरक्षाकर्मी र व्यापारीको मनपरीको गुनासो

गोरखा : लामो समयपछि चीनसँगको व्यापारिक नाका खुलेपछि चुमनुब्री गाउँपालिकाका स्थानीय व्यापारीहरू स्याक बजारमा सामान लिन जाँदा चिनियाँ सुरक्षाकर्मी र व्यापारीहरूको दुर्व्यवहार खेप्नुपरेको गुनासो गरेका छन्।

भदौ ५ गतेबाट खुलेको रुइला नाकाबाट स्याक बजार गएका चुमवासीहरूले चिनियाँ सुरक्षाकर्मीले उनीहरूलाई नियन्त्रणमा राखेर अपमानजनक व्यवहार गरेको बताएका छन्। सुरक्षाकर्मीहरूले फोटो खिचेर उनीहरूलाई ठूलो सपिङ मलमा लगेर ढोका थुनेर राख्ने, बाहिर जान खोज्दा हातपात गर्ने र जबर्जस्ती नियन्त्रणमा राख्ने गरेको व्यापारीहरूको आरोप छ।

व्यापारिक गतिविधिमा पनि समस्या देखिएको छ। स्थानीय व्यापारीहरूले सामान छान्न नपाउने, म्याद गुज्रिएका सामान किन्न बाध्य पारिएको, र चिनियाँ व्यापारीहरूले सामानको मूल्य मनपरी बढाउने गरेको गुनासो गरेका छन्। साथै, उनीहरूले आफ्नो सामान उचित मूल्यमा बेच्न नपाएको र प्रतिस्पर्धा गर्न पाउनुपर्ने बताए।

व्यापारिक नाकामा यस्तो व्यवहार हुँदा नेपाली व्यापारीहरू असहज महसुस गरिरहेका छन्। उनीहरूले चिनियाँ सुरक्षाकर्मी र व्यापारीहरूको यस्तो व्यवहारलाई अन्यायपूर्ण भन्दै सम्बन्धित निकायहरूले यस विषयमा पहल गर्नुपर्ने माग गरेका छन्।