समाचार

एमाले सप्तरीका इन्चार्ज प्याकुरेलविरुद्ध अख्तियारमा उजुरी

एमाले सप्तरीका इन्चार्ज प्याकुरेलविरुद्ध अख्तियारमा उजुरी

नेकपा एमालेका सप्तरी इन्चार्ज सुमनराज प्याकुरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
कर्मचारी सरुवामा चलखेल गरेको भन्दै उनीविरुद्ध अख्तियारमा उजुरी परेको हो।


सप्तरीको डाक्नेश्वरी नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत नपठाई, अधिकृत वा उपसचिवस्तरको पठाउन स्थानीयहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरेका थिए। तर, प्याकुरेलले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र सचिव भरतमणी सुवेदीको मिलोमतोमा निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाउन लगाएको उजुरीमा उल्लेख छ। पदको दुरुपयोग गरी भ्रष्टाचार संस्थागत गर्न नेता प्याकुरेलको भूमिका देखिएको हुँदा नेपाल सरकारको कानून बमोजिम कारवाही गर्न स्थानीयले उजुरी दिएका हुन्।


गत १९ भदौमा यो उजुरी अख्तियारमा दर्ता भएको हो।
डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुख रामलखन मलाहले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुन्दन कुमार कर्णलाई हटाएर नगरपालिकाकै पशु अधिकृत रामकिसुन यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा ल्याइएको थियो। यादवलाई हाकिम बनाएर नगरपालिकामा ल्याइदिए बापत मलाहले जिल्ला इन्चार्ज प्याकुरेल र जिल्ला अध्यक्ष ताराकान्त चौधरीलाई रु ७ लाख दिएको उजुरीमा उल्लेख छ। रकम पाएपछि प्याकुरेलले मन्त्रालयसम्म पहल गरेको उजुरीकर्ताको दाबी छ।
'नगरपालिकाको भ्रष्टाचारको विषयमा संघीय संसदमा समेत कुरा उठिरहेको बेला निमित्त प्रमुख प्रशासकीय अधिकृत ल्याउनु भनेको भ्रष्टाचारलाई संस्थागत गर्नु हो,' उजुरीमा भनिएको छ।


नगरपालिकामा आएका प्रमुख प्रशासकीय अधिकृतले कर्मचारी भर्नाका लागि निकालेका विज्ञापनहरूमा मेयरको सेटिङ्गमा अगाडि नबढाएपछि पालिकामा अधिकृत र मेयर बीच विवाद बढ्दै गएको थियो। गरिएको विज्ञापनलाई अगाडि बढाउनकै निम्ति आफ्नो अनुकूलको निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाइएको उजुरीमा भनिएको छ।