दसैँका लागि राजधानीबाट ५ लाखभन्दा बढी बाहिरिए, सडकमा सवारी चाप ५० प्रतिशतसम्म घट्यो!

दसैँ नजिकिँदै गर्दा उपत्यकाको भीडभाड घटेर सडकहरू सुनसानजस्तै देखिन थालेका छन्। वर्षभरि रोजगारी, अध्ययन र व्यापारका लागि राजधानीमा बस्ने धेरैजसो मानिस पर्व मनाउन आफ्ना गाउँतर्फ फर्किँदै गर्दा काठमाडौँको चहलपहल कम भएको हो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीका अनुसार यस वर्ष दैनिक सवारी चाप करिब ४० देखि ५० प्रतिशतसम्म घटेको छ। उनले भने, “दसैँका बेला धेरैजसो मानिस गाउँ फर्किसकेका छन्, त्यसैले सडक विगतमा भन्दा खाली भएका छन्, तर ट्राफिक सुरक्षाको दृष्टिले हामी अझै पनि उच्च सतर्कतामा छौँ।”
सार्वजनिक सवारीसाधनमा देखिने यात्रुको भीड पनि सामान्य दिनको तुलनामा निकै घटेको छ। घटस्थापनादेखि मङ्गलबारसम्म आठ दिनको अवधिमा मात्रै पाँच लाख ५३ हजार २६१ जनाले उपत्यका छाडेको तथ्याङ्क उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सार्वजनिक गरेका छन्।
राजधानीबाट गाउँ फर्किने क्रम बढेसँगै ग्रामीण बस्तीहरू भने जीवन्त र उल्लासमय बनेका छन्। परिवारसँग पुनर्मिलनको उत्साह, आफ्नै माटोको सुवास र चाडपर्वसँग जोडिएका सांस्कृतिक स्मृतिहरूले मानिसलाई गाउँतिर आकर्षित गरिरहेको छ। घर–आँगनमा टिका र जमरा छर्ने तयारी भइरहेका, सामाजिक सञ्जालमा उल्लासका तस्बिरहरू बढिरहेका र परदेशी छोराछोरी घर फर्किँदा बाबुआमा तथा नातागोता बीचको पुनर्मिलनका भावनात्मक क्षणहरू साटासाट भइरहेका छन्।
सडकमा चाप घटे पनि मानिसको भावनात्मक आवागमन तीव्र बनेको यस परिवेशले दसैँ केवल पर्व नभई सामाजिक एकता र पारिवारिक पुनर्मिलनको ठूलो अवसर हो भन्ने कुरा झनै प्रष्ट पारेको छ।