समाचार

दशैंमा अस्पतालका बेडमै जेन–जी घाइतेहरूको आक्रोश: ‘अन्तरिम सरकार म्यान्डेटअनुसार चलेन’

दशैंमा अस्पतालका बेडमै जेन–जी घाइतेहरूको आक्रोश: ‘अन्तरिम सरकार म्यान्डेटअनुसार चलेन’

काठमाडौं । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा घाइते भएकाहरू दशैंको बेला पनि अस्पतालका बेडमा उपचाररत छन्। तर उनीहरू अन्तरिम सरकारप्रति असन्तुष्ट हुँदै आन्दोलनको भावना र म्यान्डेट विपरीत सरकार चलाएको आरोप लगाइरहेका छन्।

राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत सिन्धुपाल्चोकका अभिषेक श्रेष्ठले अन्तरिम सरकारले शहीद र घाइतेप्रति इमान्दार नभएको भन्दै चेतावनी दिए। उनले भने, “अन्तरिम सरकारले म्यान्डेट अनुसार काम नगरे फेरि सडकमा उत्रेर सरकार ढाल्छौं। दशैं होइन, अहिले हाम्रो लागि दशा आएको छ।”

दाङका सुरेश पोखरेलले पनि अस्पतालको ओछ्यानबाट असन्तोष पोख्दै भने, “हाम्रो रगतमा टेकेर बनेको सरकारले कानुन र नियमको आडमा पन्छिन खोज्दैछ। सहानुभूति होइन, व्यवहारमा परिवर्तन देखाउनुपर्छ।”

घाइतेहरूको उपचारमा संलग्न डा. जगत विकले सरकारले घाइतेलाई दिएको २० हजार रुपैयाँ राहतलाई अपमानजनक भन्दै आक्रोश व्यक्त गरे। उनले भने, “नेतालाई हाछ्यु आए पनि दिल्ली लैजान करोडौं खर्चिन्छ, तर आन्दोलनकारीलाई २० हजार? यो सरकारलाई लाज हुनुपर्छ।”

डा. विकले आफूलाई मृतक परिवारले स्वास्थ्यमन्त्रीका लागि सिफारिस गरेको दाबी गर्दै तर केही व्यक्तिहरूले मृतक परिवारलाई धम्क्याउँदै मन्त्री बनाउनै हुँदैन भन्ने दबाब दिएको आरोप लगाए। उनका अनुसार ‘हामी नेपाल’ समूहका सुदन गुरुङका मान्छेहरूले उनलाई प्रत्यक्ष धम्की दिएका छन्।

“मन्त्री बन्ने हामी हो, तिमी होइन” भन्दै धम्की दिइएको उनले बताए। विकले सुदन गुरुङ जेनजी नभएको, केवल आन्दोलनको नाममा अवसर खोजिरहेको आरोप लगाए।

घाइते र मृतक परिवारले गठित संघर्ष समितिले डा. विकलाई स्वास्थ्यमन्त्री बनाउन दबाब दिइरहेको छ। समितिका संयोजक कमल सुवेदीले भने, “जेनजी आन्दोलनका बलिदानलाई सम्मान गर्न डा. विकलाई मन्त्री बनाउनु पर्छ।”

gen z