समाचार

जेन–जी आन्दोलनका दुई दिनमा ५७ पटक आगो निभाएको काठमाडौं महानगरको दाबी!

जेन–जी आन्दोलनका दुई दिनमा ५७ पटक आगो निभाएको काठमाडौं महानगरको दाबी!

काठमाडौं महानगरपालिकाले जेन–जी आन्दोलनका क्रममा उपत्यकाभर फैलिएका आगलागीका घटनामा दमकल परिचालन गर्न ढिलाइ गरेको आरोप अस्वीकार गरेको छ। महानगरको विपद् व्यवस्थापन विभागका प्रमुख तथा नगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीका अनुसार भदौ २३ र २४ गते आन्दोलनकै बीचमा महानगरका दमकलले ५७ पटक आगो निभाउने कार्य गरेका थिए।

शुक्रबार बसेको काठमाडौं महानगरको ४३औँ नगर कार्यपालिका बैठकमा जोशीले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै सिंहदरबार र सर्वोच्च अदालतमा आगलागी हुँदा महानगर रमिते बनेको भन्ने सार्वजनिक आलोचना असत्य भएको दाबी गरे। उनले समयमै दमकल परिचालन गरिएको भए पनि ती दिन राजधानीमा एकैसाथ भएका आगलागी र भिडन्तका कारण नियन्त्रण प्रयास अत्यन्त चुनौतीपूर्ण भएको बताए।

जोशीका अनुसार आन्दोलन सुरु भएको भदौ २३ गते दिउँसो १ बजेदेखि नै पहिलो उद्धार सुरु भएको थियो। “शान्तिनगरमा एम्बुलेन्समा लागेको आगो निभाउन हिँडिएको थियो, त्यसपछि सुन्धारामा मोटरसाइकल र बिजुलीका पोलमा लागेको आगो पनि नियन्त्रण गरियो,” उनले भने। तर दिउँसो ३ बजेदेखि नयाँबानेश्वर क्षेत्रमा व्यापक झडप भएपछि दमकलको आवागमन असम्भव भएको उनको भनाइ थियो।

भदौ २४ गते झन् गम्भीर परिस्थिति बनेको उनले स्मरण गरे। “वसन्तपुरबाट दमकल चल्दा जनसेवा र हिमालयन बैंकमा आगो निभाउन दबाब आयो, त्यहाँबाट अघि बढ्न दिइएन,” उनले बताए। चाबहिलबाट पठाइएको अर्को दमकल ढुंगामुढाको बीचमा परेपछि सेनाको स्कर्टिङ गाडीसमेत आक्रमणमा परेको जोशीको भनाइ थियो। “हामीलाई सुरक्षा नै सुनिश्चित नभएकाले केही समयका लागि दमकल रोक्नुपर्‍यो,” उनले स्पष्ट पारे।

जोशीका अनुसार त्यतिबेला महानगरसँग पाँचवटा दमकल सक्रिय थिए, जसमा दुईवटा सिंहदरबारमा, बाँकी विभिन्न स्थानमा परिचालित गरिएका थिए। सिंहदरबारमा दुई दमकलबाट पानी हानेर आगो नियन्त्रणमा लिन खोजिए पनि अन्य ठाउँमा एकैपटक आगलागी हुँदा स्रोत सीमित भएको उनले बताए।

सर्वोच्च अदालतमा आगो निभाउन ललितपुर महानगरको दमकल पुगेको भन्ने दाबी पनि गलत भएको उनको तर्क थियो। “त्यो दमकल हामीले नै सहयोगका लागि बोलाएका थियौँ, ललितपुरले एक्लै पठाएको होइन,” उनले स्पष्ट पारे।

जेन–जी आन्दोलनका ती दुई दिनमा राजधानीका सडक, सरकारी कार्यालय, बैंक, र निजी भवनमा फैलिएको आगलागी नियन्त्रणमा महानगरले आफ्नो अधिकतम प्रयास गरेको भन्दै जोशीले भने, “हिल्टन होटलजस्ता अग्ला भवनमा सीमित स्रोतले काम गर्न नसक्दा कठिनाइ भयो, तर अन्यत्र उद्धार गर्न हामी सफल भयौँ।”

ती घटनाले काठमाडौंको शहरी सुरक्षा पूर्वाधार र आपत् व्यवस्थापन क्षमताबारे गम्भीर प्रश्न उठाएको छ। स्थानीय सरकारका अधिकारीहरूका अनुसार, अब राजधानीमा तीव्र शहरीकरणअनुरूप दमकल पहुँच, समन्वय र जनसुरक्षा अभ्यासलाई सुदृढ बनाउने कार्य प्राथमिकतामा राखिनेछ।