गृहमन्त्री अर्यालको भनाइ: “नेपाल प्रहरीलाई समयानुकूल परिस्कृत र स्रोतसाधनयुक्त बनाउन सरकार प्रतिबद्ध”

गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई समय र प्रविधिको आवश्यकताअनुसार पुनःसंरचना र आधुनिकीकरण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। शुक्रबार काठमाडौंमा आयोजित ७०औं प्रहरी दिवस तथा अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रविधिको तीव्र विकाससँगै अपराध अनुसन्धानका स्वरूप जटिल बन्दै गएको बताउँदै प्रहरीलाई परिस्कृत, दक्ष र स्रोतसाधनयुक्त बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट गरे।
गृहमन्त्री अर्यालका अनुसार गृह मन्त्रालयले आन्तरिक सुरक्षा सुदृढ गर्न र प्रहरीलाई पर्याप्त स्रोतसाधन उपलब्ध गराउन प्राथमिकता दिइरहेको छ। उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पनि स्रोतसाधनको अभाव हुन नदिन तयारी भइरहेको बताए।
भदौ २३ र २४ गतेको ‘जेन–जी’ आन्दोलनका क्रममा प्रहरीमाथि भएका आक्रमण, तोडफोड र आगजनीले संस्थागत रूपमा ठूलो क्षति पुर्याएको उनले उल्लेख गरे। उनका शब्दमा, “न्यून साधनस्रोतका बीच काम गर्दै आएको नेपाल प्रहरीलाई त्यस आन्दोलनले मनोबल र स्रोत दुबै दृष्टिले असर पुर्याएको छ। अब पुनःसंरचना र निष्पक्ष अनुसन्धानमार्फत नागरिकमा भरोसा कायम गर्नुपर्छ।”
अर्यालले पछिल्ला केही जिल्लामा देखिएका धार्मिक र साम्प्रदायिक विवादका घटनालाई गम्भीर सुरक्षा चुनौतीका रूपमा व्याख्या गर्दै त्यस्ता गतिविधिले नेपालको सामाजिक सद्भाव र सहिष्णुतामा चोट पुर्याउने प्रयास भइरहेको बताए। उनले समयमै नियन्त्रण र समन्वय नहुँदा त्यसले राष्ट्रिय एकता र शान्ति सुरक्षामा दीर्घकालीन असर पार्न सक्ने चेतावनी दिए।
कार्यक्रममा प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले संस्थाभित्र सुधार, शुद्धीकरण र जनविश्वास वृद्धि नै हालको प्राथमिकता रहेको बताए। “नेपाल प्रहरीबिनाको समाज कल्पना गर्न सकिँदैन,” उनले भने, “हाल ९३९ स्थानमा नयाँ प्रहरी एकाइको माग छ र ४०० भन्दा बढी एकाइमा स्तरोन्नतिको आवश्यकता छ। आगामी दिनमा कम्तीमा २५ हजार जनशक्ति थप्नुपर्ने देखिन्छ।”
महानिरीक्षक खापुङले असहज परिस्थितिमा पनि प्रहरीको भूमिकाले नागरिकमा सुरक्षाको भरोसा जगाइरहेको बताए। उनले प्रहरीको बोली, व्यवहार र व्यावसायिक क्षमतामा सुधार ल्याउन निरन्तर प्रयास भइरहेको पनि स्पष्ट गरे।
कार्यक्रममा ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ अवकाशप्राप्त प्रहरी नायब महानिरीक्षक कृष्णबहादुर रानालाई प्रदान गरिएको थियो। उत्कृष्ट अनुसन्धान अधिकृत पुरस्कार प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारी र पूर्ण शान्ति पुरस्कार जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी भोलाकुमार भट्टले प्राप्त गरे। वीरगति प्राप्त छ प्रहरीका आश्रित परिवारलाई जनही एक लाख ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको थियो।
नेपाल प्रहरीको स्थापनाको ७० वर्ष पूरा भएको आजको दिनमा संस्थाले ७ हजार ७१५ जनशक्तिबाट सुरुवात गरेको र अहिले ७९ हजारभन्दा बढी जनशक्ति पुगेको तथ्य सार्वजनिक गरिएको छ। सात दशकको यात्रामा प्रहरीले राज्य र नागरिकबीच विश्वासको सेतुका रूपमा आफ्नो भूमिका विस्तार गरेको भन्दै सहभागीहरूका भनाइमा अबको दशकले यस संस्थालाई प्रविधिसँग मिल्दोजुल्दो, जनउत्तरदायी र सुदृढ बनाउने दिशामा परीक्षण गर्नेछ।