समाचार

महाराजगञ्जमा प्रहरी जवान थापा हत्या प्रकरण: दुई अभियुक्तविरुद्ध आजीवन काराबास मागसहित मुद्दा दायर

महाराजगञ्जमा प्रहरी जवान थापा हत्या प्रकरण: दुई अभियुक्तविरुद्ध आजीवन काराबास मागसहित मुद्दा दायर

महाराजगञ्जमा प्रहरी जवान उत्तम थापाको हत्या प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले दुईजनाविरुद्ध आजीवन काराबासको मागसहित मुद्दा दायर गरेको छ। सरकारी वकिल कार्यालयका अनुसार काभ्रेका २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुरका २१ वर्षीय सोनाम तामाङ उर्फ बुद्धिलाल थिङलाई कर्तव्य ज्यान र आपराधिक उपद्रवसम्बन्धी कसुरमा अभियुक्त बनाइएको हो।

यो घटना जेन–जेड आन्दोलनका क्रममा गत भदौ २४ गते घटेको थियो। प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत जवान थापा त्यही दिन सादा पोसाकमा ड्युटीमा खटिएका बेला भीडले आक्रमण गरी कुटीकुटी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको थियो। शव त्यतिबेला सडकमा फ्यालिएको अवस्थामै फेला परेको थियो।

मुद्दासँग संलग्न प्रमाण अनुसार, आरोपितहरूले प्रहरीमाथि रड, लाठी, चक्कु, खुकुरी र ह्यामर प्रयोग गरी आक्रमण गरेको र त्यसपछि प्रहरी कार्यालयमा समेत तोडफोड र आगजनी गरेको स्वीकारेका छन्। सरकारी वकिल कार्यालयले उनीहरूलाई ज्यान सम्बन्धी कसुर, आपराधिक उपद्रव र एकीकृत अपराध अन्तर्गत ‘जीवित रहुञ्जेल कैद’ सजाय माग गर्दै बिहीबार मुद्दा दर्ता गरेको जनाएको छ।

जेन–जेड आन्दोलनका क्रममा देशभर भएका हिंसात्मक घटनामा प्रहरी जवान उत्तम थापा, सहायक हवल्दार अमृत गुरुङ र प्रहरी सहायक निरीक्षक मिलन राय गरी तीन प्रहरीको ज्यान गएको पुष्टि भएको छ।

थापाको हत्या प्रकरण अब अदालतको फैसलामा पुग्न लागेको छ, जसले जेन–जेड आन्दोलनपछिका कानुनी कारबाही र उत्तरदायित्वको दिशा पनि निर्धारण गर्नेछ भन्ने जनप्रतिनिधि तथा कानुनविद्हरूको बुझाइ छ। यस्तो मुद्दाको निष्पक्ष र शीघ्र टुंगोले कानूनको शासनमा नागरिकको विश्वास बलियो बनाउने अपेक्षा गरिएको छ।