जापानका पूर्व प्रधानमन्त्री तोमिची मुरयामाको १०१ वर्षमा निधन

जापानका पूर्व प्रधानमन्त्री तोमिची मुरयामाको १०१ वर्षको उमेरमा शुक्रबार निधन भएको जापानी अधिकारीहरूले पुष्टि गरेका छन्। मुरयामाको निधन जापानको ओइटा सिटीस्थित एक अस्पतालमा बिहान ११ः२८ बजे भएको सोसल डेमोक्रेटिक पार्टीकी नेत्री मिजुहो फुकुसिमाले एक्स (पूर्व ट्विटर) मार्फत जानकारी दिएकी थिइन्। ओइटा प्रान्तकै सोसल डेमोक्रेटिक पार्टी महासचिव हिरोयुकी टाकानोले मुरयामाको मृत्यु बुढ्यौलीका कारण भएको पुष्टि गरेका छन्।
सन् १९९४ देखि १९९६ सम्म प्रधानमन्त्रीका रूपमा कार्यरत मुरयामा जापानी राजनीतिमा असाधारण व्यक्तित्व मानिन्थे। लिबरल डेमोक्रेटिक पार्टी, सोसल डेमोक्रेटिक पार्टी र नयाँ पार्टी साकिगाकेबीचको गठबन्धन सरकारको नेतृत्व गर्दै उनले युद्धपछिको जापानलाई सन्तुलन र उत्तरदायित्वतर्फ उन्मुख गराएका थिए।
दोस्रो विश्वयुद्धमा जापानले एसियाली मुलुकहरूमा पुर्याएको क्षति र पीडाबारे उनले १९९५ मा जारी गरेको “मुरयामा वक्तव्य” अहिले पनि जापानको कूटनीतिक र नैतिक सन्दर्भमा ऐतिहासिक मानिन्छ। उक्त वक्तव्यमा उनले भनेका थिए, “जापानले औपनिवेशिक शासन र आक्रामकताबाट एसियाली नागरिकहरूलाई ठूलो पीडा पुर्यायो। म इतिहासका यी सत्यहरूलाई गहिरो नम्रता र पश्चातापका साथ स्वीकार गर्छु र हृदयदेखि माफी माग्छु।”
उनको यो अभिव्यक्तिले जापानको आधिकारिक युद्धमाफीको आधार तय गर्यो। त्यसपछि आएका प्रधानमन्त्रीहरूले पनि युद्धका स्मृति दिवसहरूमा “गहिरो पश्चाताप” र “हार्दिक माफी” भन्ने शब्दहरू दोहोर्याउँदै मुरयामाको मानवीय दृष्टिकोणलाई निरन्तरता दिएका छन्।
मुरयामाको कार्यकाल राजनीतिक दृष्टिले संवेदनशील र कठिन समयको प्रतीक रह्यो। सन् १९९५ मा जापानमा आएको भूकम्पले ठूलो जनधन क्षति पुर्यायो भने त्यही वर्ष टोकियोको सबवेमा सारिन ग्यास आक्रमण हुँदा दर्जनौँ नागरिकको मृत्यु र हजारौँ घाइते भएका थिए। संकटको त्यो समयमा उनले संयमित नेतृत्व र मानवतावादी दृष्टिकोण प्रदर्शन गरेका थिए।
दोस्रो विश्वयुद्धका अन्त्यतिर जापानी शाही सेनामा भर्ती भएका मुरयामाले आफ्नो युवावस्थाको अनुभव स्मरण गर्दै एक पटक भनेका थिए, “त्यो समयमा हतियार र खाना दुबै सकिँदै थिए, बाँसबाट बनेका हतियारले हामी युद्ध लड्दै थियौँ—त्यो सोच्दा आज पनि शरीर काँप्छ।”
घना आँखीभौँ र सरल स्वभावका कारण जनप्रिय ठानिएका मुरयामालाई जापानी राजनीतिमा “नम्रताको प्रतीक”का रूपमा सम्झिन्छ। उनी एकमात्र सोसल डेमोक्रेटिक पार्टीका प्रधानमन्त्री थिए जसले लिबरल डेमोक्रेटिक पार्टीसँग मिलेर जापानको राजनीतिक दिशा स्थायीतर्फ मोड्न सके।
मुरयामाको निधनसँगै जापानी राजनीतिमा आत्मआलोचना, सहिष्णुता र ऐतिहासिक जिम्मेवारीको भाव बोकेको एउटा युग अन्त्य भएको विश्लेषकहरूले बताएका छन्। धेरैका अनुसार उनको नाम जापानको आत्मचिन्तन र विश्वप्रतिको उत्तरदायित्वको प्रतीकका रूपमा लामो समय सम्झिनेछ।