प्रधानमन्त्री सुशीला कार्कीको घोषणा: “छ महिनाभित्र निष्पक्ष निर्वाचन सम्पन्न गरी शान्तिपूर्ण सत्ता हस्तान्तरण गरिनेछ"

प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुशीला कार्कीले वर्तमान अन्तरिम सरकारले आगामी छ महिनाभित्र निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गरी नयाँ निर्वाचित सरकारलाई शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्ने प्रतिवद्धता जनाएकी छन्। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा शुक्रबार काठमाडौंमा रहेका राजदूत, कूटनीतिज्ञ र विकास साझेदार संस्थाका प्रतिनिधिहरूसँगको विस्तृत अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री कार्कीले हालको सरकारको मुख्य उद्देश्य राजनीतिक स्थायित्व र संस्थागत सुशासनको पुनर्स्थापना रहेको स्पष्ट पारिन्।
उनले हालैको ‘जेन–जी ’ आन्दोलनपछि नेपालको राजनीतिक परिदृश्यमा तीव्र परिवर्तन आएको बताउँदै त्यस आन्दोलनले नागरिक समाजमा पारदर्शिता, जवाफदेहिता र उत्तरदायी शासनप्रति गहिरो अपेक्षा जन्माएको उल्लेख गरिन्। “सरकार जनभावनालाई बुझ्दै, निष्पक्ष प्रक्रिया र लोकतान्त्रिक अभ्यासका माध्यमबाट ती अपेक्षाहरू पूरा गर्न प्रतिबद्ध छ,” प्रधानमन्त्री कार्कीको भनाइ थियो।
परराष्ट्रमन्त्रीको भूमिकासमेत सम्हाल्दै आएकी कार्कीले अन्तर्राष्ट्रिय समुदाय र विकास साझेदारहरूलाई नेपालको आन्तरिक राजनीतिक संक्रमण र आगामी निर्वाचनको तयारीबारे जानकारी दिइन्। उनले निर्वाचन प्रक्रियालाई निस्पक्ष बनाउनका लागि आवश्यक कानुनी, प्रशासनिक र प्राविधिक तयारी तीव्र गतिमा अघि बढाइरहेको बताइन्।
प्रधानमन्त्रीले सुशासन र जवाफदेहितातर्फ सरकारका हालका कदमहरू पनि प्रस्तुत गरिन्—जसमा सार्वजनिक खर्चमा पारदर्शिता, प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण, र स्थानीय निकायहरूमा सेवा वितरणमा प्रत्यक्ष निगरानी प्रणाली लागू गरिनु मुख्य रहेको बताइयो।
अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिहरूलाई उनले नेपालको लोकतान्त्रिक संक्रमणलाई सहयोग र विश्वासका साथ हेरिदिन आग्रह गर्दै भनिन्, “हाम्रो लक्ष्य छ—संविधानको मर्म र जनादेशअनुसार सत्ता शान्तिपूर्ण रूपमा हस्तान्तरण गरी विश्वसनीय लोकतान्त्रिक अभ्यासको उदाहरण प्रस्तुत गर्ने।”
नेपाल हाल जेन–जी आन्दोलनपश्चातको संवेदनशील राजनीतिक चरणमा रहेको बेला प्रधानमन्त्री कार्कीको यो स्पष्ट र संयमित सन्देशले राजनीतिक स्थायित्वतर्फको संकेत दिएको विश्लेषकहरू बताउँछन्। देशभित्र र बाहिर दुवै ठाउँमा स्थिर शासन र लोकतान्त्रिक अभ्यासप्रति नयाँ विश्वास जगाउने दिशामा यो अभिव्यक्ति महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।