राष्ट्रपति पौडेल असन्तुष्ट: ओलीको निर्वाचन बहिष्कार निर्णयले लोकतन्त्रमै प्रश्न उठायो

राष्ट्रपति पौडेल असन्तुष्ट: ओलीको निर्वाचन बहिष्कार निर्णयले लोकतन्त्रमै प्रश्न उठायो

राष्ट्रपति रामचन्द्र पौडेल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टीलाई सहभागी नगराउने घोषणा गरेको निर्णयप्रति असन्तुष्ट देखिएका छन्। शनिबार शीतल निवासमा बौद्धिक समुदायका अगुवाहरूसँगको भेटवार्तामा राष्ट्रपति पौडेलले ओलीको निर्णयले लोकतान्त्रिक प्रक्रियाप्रति गलत सन्देश दिन सक्ने बताएका सहभागी स्रोतहरूले जनाएका छन्।

शुक्रबार एमाले केन्द्रीय कमिटीको बैठक समापनमा अध्यक्ष ओलीले निर्वाचनमा भाग नलिने घोषणा गर्दै “वर्तमान परिस्थितिमा प्रतिपक्षी शक्तिको रूपमा नै जनताको पक्षमा उभिनु आवश्यक छ” भन्ने अभिव्यक्ति दिएका थिए। तर राष्ट्रपतिसँगको छलफलमा सहभागी एक बौद्धिक अगुवाका अनुसार, राष्ट्रपति पौडेलले यस्तो कदमले राजनीतिक संक्रमण थप लम्ब्याउने र प्रणालीप्रतिको जनविश्वास कमजोर पार्ने जोखिम औंल्याएका थिए।

छलफलमा सहभागी अर्का व्यक्तिले पनि राष्ट्रपतिले एमालेको निर्णयप्रति असन्तुष्टि प्रकट गर्दै यो समय सबै राजनीतिक दलले निर्वाचनलाई लोकतान्त्रिक मार्गको एक मात्र विकल्पका रूपमा स्वीकार गर्नुपर्ने धारणा राखेको बताएका छन्। सहभागीहरूका भनाइअनुसार, राष्ट्रपति पौडेलले एमाले अध्यक्षबाहेकका अन्य नेताहरूसँगको भेटमा भने केही सकारात्मक संकेत पाएको उल्लेख गर्दै, “एमालेका अन्य नेताहरू निर्वाचन प्रक्रियाबाट नहट्ने पक्षमा छन्” भन्ने जानकारी दिँदै समर्थन देखाएका थिए।

छलफलका क्रममा राष्ट्रपति पौडेलले आफूले पूर्व प्रधानमन्त्री ओलीकै सिफारिसमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको प्रसंग पनि स्मरण गराएका थिए। उक्त टिप्पणीलाई उपस्थितहरूले "राजनीतिक प्रक्रियामा सहकार्यको निरन्तरता" को सन्देशका रूपमा व्याख्या गरेका छन्।

ओलीको पछिल्लो निर्णयले आगामी निर्वाचनको राजनीतिक वातावरणमा नयाँ अनिश्चितता थपेको छ। तर राष्ट्रपतिले दिनुभएको संकेत-संवाद र सहभागितामार्फत स्थायित्व खोज्नेले राजनीतिक संवाद अझै खुला रहेको आभास दिएको छ, जहाँ जिम्मेवार नेतृत्वका सन्तुलित निर्णयहरू आगामी हप्ताहरूमा निर्णायक बन्न सक्ने देखिन्छ।

संम्बधित खबर