महेश बस्नेतको धम्की: छानबिनको नाममा प्रतिशोध भयो भने सशक्त प्रतिवाद

सामाजिक सञ्जालमा विवादास्पद पोस्ट गर्दै पूर्वमन्त्री महेश बस्नेतले हालको राजनीतिक अवस्थाप्रति कठोर चेतावनी दिएका छन्। उनले अन्तर्राष्ट्रिय उदाहरण प्रस्तुत गर्दै प्रतिशोधपूर्ण राजनीति नेपाललाई थप संकटतर्फ धकेल्ने दाबी गरेका छन्। बस्नेतले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, केपी शर्मा ओली, शेरबहादुर देउवा र वर्तमान प्रधानमन्त्री सुशिला कार्कीको संयुक्त तस्वीर सेयर गर्दै आफ्नो सन्देश सार्वजनिक गरेका हुन्।
उनले लेखेका छन्—“थाइल्याण्डमा थाक्सिन सिनवात्रामाथि गरिएको प्रतिशोधपूर्ण व्यवहारले राजनीतिक घाव कहिल्यै निको भएन। बर्मामा आङ सान सू चीलाई दशकौँ नजरबन्दमा राख्दा मुलुक हत्या र हिंसाको दलदलमा डुब्यो। शासनले प्रतिशोधका आधारमा निर्णय गर्न थाल्यो भने परिणाम कहिल्यै शुभ हुँदैन।”
बस्नेतका अनुसार, नेपालमा जेन–जेड आन्दोलनको नाममा भइरहेका गतिविधिबारे निष्पक्ष र स्वतन्त्र छानबिन आवश्यक छ। तर छानबिनको नाममा यदि प्रतिशोधले राजनीति कब्जा ग¥यो भने, परिणाम झन् गम्भीर हुने उनको चेतावनी छ। “सशक्त प्रतिवाद हुनेछ, परिस्थिति अझ जटिल बन्नेछ,” उनको पोस्टमा प्रष्ट उल्लेख छ।
उनको टिप्पणीले सार्वजनिक बहसलाई चर्काएको छ। समर्थकहरूले बस्नेतको चेतावनीलाई लोकतन्त्र र न्यायको पक्षमा उठाइएको सवालका रूपमा चित्रण गरे भने आलोचकहरूले उनलाई अस्थिरता भड्काउने राजनीतिक शैली दोहोर्याएको आरोप लगाइरहेका छन्। राजनीतिक विश्लेषकहरूको भनाइमा, बस्नेतले दिएको सन्देश हालै बनेको अन्तरिम सरकार सुशिला कार्कीको नेतृत्वमा अझै संवेदनशील रहेको संक्रमणकालीन अवस्थासँग प्रत्यक्ष जोडिएको छ।
नेपालको राजनीतिक इतिहासमा शक्ति–संघर्ष र प्रतिशोधको संस्कृति बारम्बार देखिँदै आएको छ। यसपटक पनि त्यही बाटो दोहोरिने हो वा लोकतान्त्रिक मूल्यले दिशा दिन्छ भन्ने प्रश्न अहिले जनताबीच घनीभूत बनेको छ।