समाचार

देशभर मौसमी संकट: प्रशासनले रातिको यात्रा नगर्न र सतर्क रहन आग्रह

देशभर मौसमी संकट: प्रशासनले रातिको यात्रा नगर्न र सतर्क रहन आग्रह

काठमाडौं । असोज १७ देखि २० गतेसम्म देशभर प्रतिकूल मौसमी अवस्था देखिने अनुमानसँगै विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन्। भारी वर्षा, बाढी, पहिरो र भू–क्षयको सम्भावनाले गर्दा अनावश्यक लामो दूरीको यात्रा नगर्न र विशेषगरी रातिको समयमा यात्राबाट टाढा रहन प्रशासनले आग्रह गरेको छ।

काठमाडौँ प्रशासन कार्यालयले राजधानी भित्र–बाहिर जाने यात्रीलाई जोखिमपूर्ण अवस्थामा यात्रा नगर्न चेतावनी दिएको छ। साथै, आकस्मिक उद्धार, राहत तथा सहयोगका लागि आपतकालीन सम्पर्क नम्बर सार्वजनिक गरिएको छ।

त्यस्तै, कास्की प्रशासन कार्यालयले आजदेखि सोमबारसम्म उच्च हिमाली क्षेत्रमा हिमपात हुने अनुमान गर्दै अन्नपूर्ण, मर्दीलगायतका हिमालतर्फ पदयात्रा नगर्न आग्रह गरेको छ। साथै, पोखरा जोड्ने मुख्य राजमार्ग तथा अन्य जोखिमयुक्त सडकखण्डमा पहिरो हटाउन डोजर, एक्साभेटरजस्ता उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

चितवन, धादिङ र तनहुँ प्रशासन कार्यालयहरूले पनि पृथ्वी राजमार्गका कोत्रे–मुग्लिन–नागढुङ्गा र नारायणगढ–मुग्लिन सडकखण्डमा निरन्तर पहिरोका कारण आवागमन अवरुद्ध हुने भएकाले रातिमा यात्रा नगर्न विज्ञप्ति जारी गरेका छन्।

ललितपुरका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा आज चोभार गल्छीको निरीक्षण समेत गरिएको छ। जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा स्थानान्तरण हुन आग्रह गरिएको छ।

जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यकामा समेत भारी वर्षाको सम्भावना रहेको प्रक्षेपण गरेको छ। गृह मन्त्रालयले पाँच प्रदेशमा मध्यमदेखि भारी वर्षाको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गर्दै स्थानीय प्रशासनलाई आवश्यक परेमा सडक यातायात रोक्ने अधिकार प्रयोग गर्न निर्देशन दिएको छ।

यसैबीच, भारतको मौसम विभागले बिहार र छत्तीसगढमा भारी वर्षाको ‘रेड अलर्ट’ जारी गरेको छ, जसको सीधा असर नेपालका तराई जिल्लामा पर्न सक्ने बताइएको छ। प्रशासनहरूले जोखिमग्रस्त क्षेत्रका बासिन्दालाई नजिकैको सुरक्षित स्थान पहिचान गरी आवश्यक परेमा तत्काल सुरक्षित ठाउँमा जान तयार रहन अनुरोध गरेका छन्।

rainfall