समाचार

अचानक राति बन्द हुने अरनिको राजमार्ग: यात्रु सतर्क रहन प्रशासनको चेतावनी!

अचानक राति बन्द हुने अरनिको राजमार्ग: यात्रु सतर्क रहन प्रशासनको चेतावनी!

जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना सार्वजनिक गरेसँगै सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ। जिल्लामा बाढी, पहिरो, डुबान र चट्याङजस्ता विपद् जोखिम बढ्ने चेतावनीपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर प्रतिकार्य योजना तय गरिएको हो।

निर्णयअनुसार असोज १७ देखि २० गतेसम्म अरनिको राजमार्गसहित जिल्लाका मुख्य तथा सहायक राजमार्गहरूमा बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ। दमकल र एम्बुलेन्सजस्ता अत्यावश्यक सेवाका सवारी भने सञ्चालन हुनेछन्। परिस्थितिअनुसार वर्षा, क्षति वा जोखिम बढेमा सुरक्षा निकायले अन्य समयमा पनि आकस्मिक रूपमा सडक बन्द गर्न सक्ने निर्णय बैठकले गरेको छ।

सुरक्षा समितिले नदी किनार र पहिरो जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सार्न स्थानीय सुरक्षा युनिटलाई निर्देशन दिएको छ। त्यस्तै, उद्धार तथा राहत कार्यका लागि नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक शाखा, उद्योग वाणिज्य संघ, चौतारा अस्पताललगायत संस्थालाई तयारी अवस्थामा रहन भनिएको छ। रेडक्रसका शाखा र स्वयंसेवक परिचालन गर्ने, उद्योग वाणिज्य संघले राहत सामग्री संकलन गर्ने र चौतारा अस्पतालले आकस्मिक उपचारका लागि आवश्यक स्रोत तयारी राख्ने जिम्मेवारी तोकिएको छ।

यसबाहेक, सडक अवरुद्ध भएमा तत्कालै सडक डिभिजन, पूर्वाधार कार्यालय, स्थानीय तह र निजी क्षेत्रसँग समन्वय गरी डोजर, एस्काभेटरजस्ता हेभी इक्विपमेन्ट प्रयोग गरेर सडक खुलाउने व्यवस्था मिलाइनेछ। जिल्लामा उपलब्ध दमकल, एम्बुलेन्स र हेभी इक्विपमेन्ट चालकसहित चौबीसै घण्टा तयारी अवस्थामा राख्ने निर्णय पनि बैठकले गरेको छ।

सुरक्षा समिति बैठकले विपद् व्यवस्थापनमा स्थानीय तहलाई आपतकालीन कार्यसञ्चालन केन्द्र पूर्ण रूपमा सक्रिय राख्न, स्वयंसेवक र स्रोत तत्पर अवस्थामा राख्न र तत्काल उद्धार तथा राहतमा लाग्न आग्रह गरेको छ। जरुरी परेमा सिन्धु–सुकुटे क्षेत्रमा रहेका राफ्टिङ व्यवसायीहरूको बोट, कायाक र तिनका चालकलाई समेत उद्धार कार्यमा समावेश गर्ने व्यवस्था मिलाइने भएको छ।

राजमार्ग बन्द र आकस्मिक व्यवस्थाका यी निर्णयहरूले यात्रुहरूको असुविधा बढाउने निश्चित छ, तर प्रकोप न्यूनिकरण र जीवन सुरक्षा सुनिश्चित गर्न समयमै लिइएको सावधानीलाई सरोकारवालाले जिम्मेवारीपूर्ण कदमका रूपमा लिएको देखिन्छ।