समाचार

कस्तो रहला आज दिनभरको मौसम ?

कस्तो रहला आज दिनभरको मौसम ?

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज दिनभर देशभर साधारणतया बदली रहने जनाएको छ। विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड तथा तराईका केही भू–भागमा मध्यम वर्षा हुने सम्भावना छ। मधेश प्रदेशका थोरै स्थानमा समेत वर्षाको प्रभाव पर्ने अनुमान गरिएको छ।

विशेषगरी लुम्बिनीको तराई र कर्णाली तथा बागमतीका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना प्रक्षेपण गरिएको छ। त्यस्तै, कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा पनि भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

आज राति पनि वर्षाको क्रम जारी रहने पूर्वानुमान छ। विभागका अनुसार कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराईका भू–भागमा, साथै मधेशका केही भागमा मध्यम वर्षा हुने देखिएको छ। बाँकी प्रदेशका पहाड र तराईका थोरै स्थानमा समेत वर्षाको प्रभाव पर्न सक्ने प्रक्षेपण गरिएको छ।

गत केही दिनयता मनसुनी वायुको सक्रियता कम भए पनि स्थानीय स्तरमा वर्षाको प्रभाव देखिएको विभागका विज्ञहरूले बताएका छन्। मौसमको यस्तो उतारचढावले दैनिक जीवनसँगै दशैँ यात्रामा निस्किएका यात्रुहरूको योजना प्रभावित हुन सक्ने विज्ञहरूको सुझाव छ। जनताले अनावश्यक जोखिम नलिएर सुरक्षित यात्रालाई प्राथमिकता दिनुपर्ने सन्देश समेत प्रष्ट हुन्छ।