दशैंको टीका लगाउने र आशीर्वाद लिनेक्रम आज पनि जारी!

आश्विन शुक्ल एकादशीका दिन दशैंको टीका र जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने परम्परा आज पनि निरन्तर भइरहेको छ। नौ दिनसम्म नवदुर्गाको पूजाआराधना गरी विजयादशमीमा देवी विसर्जन गरेपछि सुरु हुने यो प्रथा कोजाग्रत पूर्णिमासम्म चल्ने धार्मिक मान्यता छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद ग्रहण गर्ने प्रचलनलाई नै शास्त्रीय मान्यता दिइएको छ। त्यसैले टीका र आशीर्वाद ग्रहण गर्ने समय विजयादशमीसँगै कोजाग्रत पूर्णिमासम्म फैलिएको समितिको भनाइ छ।
तर, पश्चिम नेपालका केही जिल्लामा भने परम्परा फरक छ। त्यहाँ दशैंको मुख्य दिन अर्थात् विजयादशमीमै दुर्गाको प्रसाद ग्रहण गर्ने चलन प्रबल रहेको छ।
पहिलो दिन मान्यजनकहाँ पुग्न नसक्नेहरूले पूर्णिमासम्म मौका बनाएर आशीर्वाद थाप्ने परम्परा अझै कायम छ। यसरी एकादशीदेखि पूर्णिमासम्म फैलिएको टीका संस्कारले दशैंलाई केवल पर्वको उत्सव मात्र नभई पारिवारिक र सामाजिक सम्बन्धलाई मजबुत बनाउने साझा अभ्यासका रूपमा निरन्तरता दिएको देखिन्छ।