समाचार

विपद् जोखिमका कारण राति बिपी राजमार्गमा सवारी आवागमन रोक!

विपद् जोखिमका कारण राति बिपी राजमार्गमा सवारी आवागमन रोक!

भीषण वर्षा र प्राकृतिक विपद्को उच्च जोखिम बढेपछि बिपी राजमार्ग राति बन्द गर्ने निर्णय गरिएको छ। काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयले असोज १६ गतेदेखि २१ गतेसम्म बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म काभ्रे भञ्ज्याङ–भकुण्डेवेशी–सिन्धुली खण्डमा सामान्य सवारी साधनको आवागमन रोकिने जानकारी दिएको हो। एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारीसाधन भने यस निर्णयबाट मुक्त हुने प्रशासनले स्पष्ट पारेको छ।

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जारी गरेको सूचनामा असोज १७ देखि २० गतेसम्म भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपणलाई आधार मानी यस्तो कदम चालिएको उल्लेख छ। उनका अनुसार यात्रु तथा स्थानीयवासीलाई अनावश्यक यात्रा नगर्न, विशेष गरी रातमा सडक प्रयोग नगर्न, पहिरो जोखिमयुक्त क्षेत्र तथा नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

रोशी खोला र आसपासका खहरे खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले अन्य समयमा पनि प्रहरीले सवारीसाधन रोक्न सक्ने चेतावनी दिइएको छ। डुबानको सम्भावना भएका बस्तीलाई अस्थायी सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्ने तयारी गर्न स्थानीय तहलाई निर्देशन दिइएको छ।

यस्तै, सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक र सरोकारवाला निकायलाई स्वीकृत कार्ययोजना अनुसार तयारी अवस्थामा रहन भनिएको छ। सडक डिभिजन भक्तपुर र सूर्यविनायक–धुलिखेल सडक आयोजनालाई डोजर, एस्काभेटर, लोडरलगायत उपकरण तुरुन्त परिचालन गर्न सक्ने गरी तयारी अवस्थामा राख्न आदेश गरिएको छ।

स्थानीय विपद् व्यवस्थापन समिति र क्लष्टर लिड संस्थालाई पनि उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ। प्रशासनको यस्तो कदमले यात्रुहरूको असुविधा बढाए पनि, विपद्को सम्भावित क्षतिको जोखिम न्यूनीकरण गर्ने प्राथमिकतामा राज्यले लिएको सतर्कता स्पष्ट देखिन्छ।