बगमती र लाल बकैया नदीमा आएको बाढीले जनजीवन प्रभावित!

लगातारको अविरल वर्षासँगै रौतहटका मुख्य नदी बागमती र लालबकैया उफ्रिँदा जनजीवन गम्भीर रूपमा प्रभावित भएको छ। जलसतह खतराको स्तर नाघेपछि नदीकिनारका बस्तीहरूमा बाढी पस्न थालेको र स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।
बागमती नदीको बहाव अहिले ४५०० क्युसेक पुगेको र सिँचाइ ड्यामका सबै ३६ ढोका खोलिएको प्रहरीले जानकारी दिएको छ। नदी किनारका बस्तीहरूमा प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। बाढीले बागमती नजिकका गाउँहरूमा बाली र पशु क्षति बढेको र बासिन्दाहरू सुरक्षित स्थानतर्फ सर्न थालेका छन्।
यस्तै, मौलापुर नगरपालिका–१ मर्यादपुर नजिक लालबकैया नदीको बाँध कटान भएपछि वरिपरिका गाउँहरूमा बाढी पस्न थालेको स्थानीयले बताएका छन्। रौतहटका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार गौर बजारसमेत जलमग्न भएको छ। उनका अनुसार “प्रायः सरकारी कार्यालय डुबानमा परेका छन्, सडकमा हिँड्न सक्ने अवस्था पनि छैन।”
पूर्वी रौतहटको भू–भागमा दुवै नदीले जलसतह पार गरिसकेकाले जिल्ला प्रशासन कार्यालयले जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान र राति सतर्क रहन आग्रह गरेको छ। प्रशासनले सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, स्थानीय तह र बासिन्दाबीच समन्वय गरी डुङ्गा, डोरी र जीवनरक्षक ज्याकेट जस्ता उद्धार सामग्री तयारी अवस्थामा राखिएको जनाएको छ।
यसैबीच, चन्द्रपुर नगरपालिका–२ अन्तर्गतको चन्द्रनिगाहपुर–बागमती खण्डमा वर्षासँगै आएको हावाहुरीले रुख ढलेर सडक अवरुद्ध बनाएको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सुरक्षाकर्मीले रुख हटाएपछि यातायात सञ्चालनमा आएको छ।
रौतहटमा बाढी र कटानले बढाउँदै गरेको जोखिमले यस वर्षको अन्त्यतिर अझ गम्भीर प्रभाव पार्न सक्ने भन्दै स्थानीय प्रशासनले निरन्तर अनुगमन र पूर्वतयारीलाई प्राथमिकता दिएको जनाएको छ।