अविरल वर्षासँगै सप्तकोशीमा पानीको बहाव बढ्दा सबै ५६ ढोका खोलियो!

कोशी प्रदेशमा लगातारको वर्षाले बाढी र डुबानको खतरा तीव्र बनेको छ। भीषण वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव असामान्य रूपमा बढेपछि आइतबार बिहान कोशी ब्यारेजका सबै ५६ ढोका पूर्ण रूपमा खोलिएको ब्यारेज कन्ट्रोल रुमले जनाएको छ। नदीको जलसतह खतराको तह नाघेपछि नियन्त्रण कक्षले तीनवटा रातो बत्ती बाल्दै उच्च सतर्कताको संकेत दिएको हो।
ब्यारेजका इन्जिनियरहरूले जनाएअनुसार सप्तकोशीमा अहिलेको बहाव पछिल्ला वर्षहरूकै उच्चतम स्तरमा पुगेको छ। पानीको तीव्र प्रवाहका कारण सुनसरी, मोरङ र झापा जिल्लाका तटिय बस्तीहरूमा डुबान र कटानको जोखिम बढेको छ। प्रहरीका अनुसार केही स्थानमा सडक आवागमन अवरुद्ध भएको र स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
कोशी नदीले बाढी नियन्त्रणका लागि बनाइएका तटबन्धहरूमा समेत दबाब बढाएको र केही कमजोर भागमा कटानको जोखिम देखिएको बताइएको छ। स्थानीय प्रशासन, सशस्त्र प्रहरी, नेपाली सेना र उद्धारकर्मीहरू संयुक्त रूपमा तयारी अवस्थामा छन्। डुङ्गा, डोरी र आपतकालीन उद्धार उपकरणहरू जोखिमग्रस्त बस्ती नजिकै राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
गत साता देखि लगातार सक्रिय मनसुनी वायूका कारण पूर्वी नेपालका नदीहरूमा जलसतह तीव्र रूपमा बढेको हो। कोशी ब्यारेज पूर्ण रूपमा खोलिएको यो वर्षको पहिलो घटना हो, जसले जलविद्युत् र सिँचाइ प्रणाली दुवैमा प्रभाव पार्ने सम्भावना रहेको विज्ञहरूले बताएका छन्।
स्थानीयहरूमा रातभरि बाढीको त्रास कायम रहँदा, मौसम विभागले अझै केही घण्टा वर्षा जारी रहने पूर्वानुमान गरेको छ। स्थिति यथावत् रहँदा, कोशी प्रदेशले प्राकृतिक विपद् व्यवस्थापनका लागि सशक्त समन्वय र समयमै चेतावनी प्रणाली विस्तार गर्नुपर्ने आवश्यकता झन् स्पष्ट भएको छ।