सप्तकोशीमा पाँच लाख ३३ हजार क्युसेक पानीको बहाव, ५७ वर्षयताकै तेस्रो उच्च बाढी मापन

असोजको अन्त्यतिर वर्षायाम सकिए पनि पूर्वी नेपालमा आइतबार कोशी नदी पुनः पानीको बेग बढेर ५७ वर्षयताकै तेस्रो उच्च बाढी दर्ज भएको छ। कोशी ब्यारेज नियन्त्रण कक्षका अनुसार आइतबार साँझ ४ बजे सप्तकोशीमा प्रति सेकेन्ड पाँच लाख ३३ हजार ५४० क्युसेक पानीको बहाव मापन गरिएको हो।
यो मात्रा पछिल्ला दशकहरूमा असामान्य मानिएको छ। यदि पानीको स्तर अझ बढ्दै गएर छ लाख क्युसेक पुग्यो भने यो वर्षाको रेकर्ड थप ऐतिहासिक बन्ने सम्भावना रहेको नियन्त्रण कक्षले जनाएको छ। शनिबार बिहानदेखि निरन्तर परेको भीषण वर्षाले कोशीको जलसतह तीव्र गतिमा बढाएको थियो, जसपछि शनिबार रातिदेखि ब्यारेजका सबै ५६ ढोका पूर्ण रूपमा खोलिएका छन्।
गत वर्ष असोज १२ गते पाँच लाख ९५ हजार ८३० क्युसेकको बहाव मापन गरिएको थियो, जुन सन् १९६८ यताकै दोस्रो उच्च बाढीको रेकर्ड मानिएको थियो। सोही वर्षको अक्टोबर ५ मा सात लाख ८८ हजार दुई सय क्युसेक पानी बग्दा कोशीले ऐतिहासिक क्षति पु¥याएको थियो। यस वर्ष भने यो बहाव तेस्रो उच्च मापनमा रहेको सम्पर्क तथा भू–आर्जन कार्यालय विराटनगरका अधिकृत चैतन्यप्रसाद सिटौलाले जानकारी दिएका छन्।
सिटौलाका अनुसार कोशी ब्यारेजमा नौ लाख क्युसेक पानीको चाप सहन सक्ने क्षमता रहेकाले तत्काल जोखिम नदेखिए पनि सतर्कता अपनाइएको छ। पूर्वी तटबन्धका राजाबास, प्रकाशपुर र मधुवन क्षेत्रमा हालसम्म कुनै क्षति नभएको उनले स्पष्ट पारे। ब्यारेज नजिकको आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ भने स्थानीय बासिन्दालाई उच्च सतर्क रहन आग्रह गरिएको छ।
सप्तकोशीमा बग्ने पानी सात प्रमुख नदी — सुनकोशी, दुधकोशी, इन्द्रावती, तामाकोशी, अरुण, तमोर र लिखु — मिसिएर बनेको हो। यी नदीहरूमा पनि वर्षाका कारण जलसतह बढेपछि कोशीमा थप चाप सिर्जना भएको हो।
यद्यपि भू–आर्जन कार्यालयले पूर्वतयारीका कारण अहिलेको अवस्था नियन्त्रणमा रहेको बताएको छ। तटबन्ध मजबुत राख्न, नदीको बहाव नियन्त्रित गर्न र सम्भावित क्षति न्यून पार्न प्राविधिक टोली सतर्क अवस्थामा राखिएको छ।
वर्षायाम सकिए पनि पछिल्लो मनसुनको अवशेषले पूर्वी नेपालमा पुनः बाढीको खतरा सताएको छ — जसले जलवायु अस्थिरताको नयाँ सन्देश दिँदै नदी व्यवस्थापन प्रणाली अझ सुदृढ बनाउनुपर्ने आवश्यकता स्मरण गराएको छ।