करेन्ट नुडल्सभित्र गुट्खा हालेर नबेचेको दाबी — तर मौनताले शंका झन् गहिरायो!

करेन्ट नुडल्सभित्र गुट्खा हालेर नबेचेको दाबी — तर मौनताले शंका झन् गहिरायो!

नेपाल आजले ‘डबल फेसः स्वाददेखि नशासम्म एउटै मालिकको साम्राज्य — पर्दा पछाडि लतको व्यापार!’ शीर्षकमा समाचार प्रकाशित गरेपछि, करेन्ट नुडल्समाथि उठेका प्रश्न अझ गम्भीर बनेका छन्। तर, कम्पनीको तर्फबाट स्पष्ट जवाफ नआएपछि शंका मेटिनुको सट्टा अझ बलियो हुँदै गएको छ।

विवादको केन्द्रमा अहिले यो प्रश्न गुञ्जिरहेको छ — “अनि के करेन्ट नुडल्सभित्र गुट्खा हालेर बेचेको छ र?”
यो वाक्य केवल व्यङ्ग्य होइन, बरु जनतामाझ बढ्दो अविश्वासको प्रतीक बनिसकेको छ।

नेपाल आजको खोजमूलक रिपोर्टले करेन्ट नुडल्स (Yashoda Foods Pvt. Ltd.) र करेन्ट/भोला गुट्खा (Shreeram Tobacco Udyog Pvt. Ltd.) का मालिकहरू एउटै रहेको खुलासा गरेको थियो। कम्पनीले भने अहिलेसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन। न त MSG र I+G रसायनको प्रयोगबारे उठाइएका स्वास्थ्यसम्बन्धी प्रश्नहरूको कुनै विवरण सार्वजनिक गरेको छ।

तर, प्रतिक्रिया नदिई मौन बस्नेभन्दा पनि बढी चिन्ताजनक कुरा के हो भने, कम्पनी नजिकका व्यक्तिहरू सामाजिक सञ्जालमार्फत पत्रकारमाथि आक्रमण गर्न सक्रिय देखिएका छन्। विभिन्न फेसबुक प्रयोगकर्ताहरूले एउटै धुनमा टिप्पणी गरेका छन् — “अनि के करेन्ट नुडल्सभित्र गुट्खा हालेर बेचेको छ र? मालिक एउटै भयो त के भो?” र “कमिसन माग्या होला, पाएन होला।” यी वाक्यहरू दोहोरिएका छन्, जसले स्वाभाविक जनमतभन्दा बढी नियोजित प्रतिक्रिया झल्काउँछ।

नेपाल आजको तथ्यमा प्रतिवाद गर्नुको सट्टा, फेसबुकका केही खाता धारकहरू — जसमध्ये धेरैले करेन्ट नुडल्ससँग नजिक सम्बन्ध राख्ने आशंका गरिन्छ — समाचारलाई “कमिसनको खेल”, “बार्गेनिङ पत्रकारिता” र “सनसनी खोज्ने प्रयास” भन्दै पत्रकारमाथि व्यक्तिगत हमला गरेका छन्।

तर रोचक पक्ष के छ भने, सबै प्रतिक्रियाहरू एकै खालका छैनन्। केही प्रयोगकर्ताहरूले स्पष्ट रूपमा भनिरहेका छन्, “कम्पनीले आफैं स्पष्टीकरण दिनु पर्छ, नत्र मौनताले शंका बढाउँछ।” अरू केहीले भने कम्पनीको नैतिकता र स्वामित्व पारदर्शितामाथि प्रश्न उठाएका छन्।

सामाजिक सञ्जाल विश्लेषकहरूको भनाइमा, फेसबुकमा आएको नकारात्मक प्रतिक्रिया ‘अर्ग्यानिक जनमत’ भन्दा बढी ‘नेरेटिभ म्यानेजमेन्ट’को रणनीतिजस्तो देखिन्छ। धेरै अकाउन्टहरूले एउटै संरचना र वाक्यांश प्रयोग गरेका छन् — विशेषगरी “गुट्खा हालेर बेचेको छ र?” र “कमिसन पाएन होला” भन्ने वाक्यहरू। यो पुनरावृत्ति, उनीहरूको टिप्पणी स्वतन्त्र नभई प्रभावमा आधारित हुनसक्ने संकेत हो।

यो विवाद केवल एउटा समाचार वा कम्पनीको छवि मात्र होइन, नेपालमा ‘पब्लिक रिलेशनको नाममा जनमत नियन्त्रण गर्ने नयाँ अभ्यास’ को संकेत पनि हो। जब कम्पनीहरू आलोचनाबाट बच्नका लागि उत्तर दिने सट्टा फेसबुकमा टिप्पणी परिचालन गर्छन्, तब पारदर्शिताभन्दा प्रचार बलियो देखिन्छ।

कम्पनीका तर्फबाट भने अहिलेसम्म कुनै आधिकारिक वक्तव्य वा पत्रकारसँग सम्पर्क गरिएको छैन। कानुनी रूपमा यस्तो मौनता स्वतन्त्र प्रेसमाथि दबाब सिर्जना गर्ने प्रयासको रूपमा पनि व्याख्या हुनसक्छ।

अब प्रश्न सोझो छ —
यदि करेन्ट नुडल्स वास्तवमै “परिवारमैत्री र सुरक्षित” हो भने,
कम्पनी किन बोल्दैन? किन तथ्यसहित प्रमाण सार्वजनिक गर्दैन?

किनकि, जब प्रश्न उठ्छ र जवाफ मौन रहन्छ,
त्यो मौनताले कहिलेकाहीँ सबैभन्दा ठूलो स्वीकारोक्ति झल्काउँछ।


नेपाल आजको विवादास्पद समाचार ‘डबल फेसः स्वाददेखि नशासम्म एउटै मालिकको साम्राज्य — पर्दा पछाडि लतको व्यापार!’ प्रकाशित भएपछि सामाजिक सञ्जालमा जनताबाट तीव्र प्रतिक्रिया देखियो। अधिकांश प्रयोगकर्ताहरूले समाचारलाई “अतिशयोक्ति र कमिसन–प्रेरित” भन्दै आलोचना गरे भने केहीले उद्योगको नैतिकता र पारदर्शिता बारे प्रश्न उठाए।

सबैभन्दा चर्चित टिप्पणी पूर्वेली काँच्छा नामका प्रयोगकर्ताबाट आयो। उनले लेखे —
“गुट्खा करेन्ट चाउचाउ भित्र हालेर बेचेको छैन होला नि? पत्रकारले कन्टेन्ट नपाएपछि आफैं कन्टेन्ट बनाउने नियत देखिन्छ। थोरै कमिसन मागे होला, पाएन, अनि यस्तो लेख्यो।”
उनले पत्रकारमाथि ‘भाइरल बन्ने नियत’ आरोप लगाउँदै समाचारलाई आपत्तिजनक भनेका छन्।

त्यसैगरी कृष्ण क्षितिजले पनि व्यङ्ग्य गर्दै लेखे —
“अनि के करेन्ट नुडल्सभित्र गुट्खा हालेर बेचेको छ र? मालिक एउटै भयो त के भो? कमिसन माग्या होला, पाएन होला।”
उनीहरूको भनाइअनुसार मालिक एउटै हुनु दोष होइन, समाचारलाई अनावश्यक रूपमा सनसनी बनाइएको हो।

मनिष हर्ष बज्राचार्यले लेखे — “छिमेकी देशबाट पत्रकारिता सिकेर आएको जस्तो लाग्यो — टाइनटुईको समाचारलाई सनसनी बनाउन खोज्दैछ।”
सुनिल गाउनेले भने — “करेन्ट विरुद्ध चौधरी ग्रुपले राम्रो लगानी गरेको छ।”
निरन खनालले भने — “नेपालीले नेपालमै व्यापार गरेको, हजारौंलाई रोजगारी दिएको कुरा किन देख्दैन? अनि चाउचाउभित्र गुट्खा त छैन नि!”

दिपक बस्नेत भने कडा रूपमा प्रस्तुत भए — “यो गुट्खा र करेन्ट कम्पनी बन्द गर्नु पर्छ।”
सुरज हजारे दाहालले पत्रकारितामाथि नै प्रश्न उठाउँदै लेखे — “यस्तै कारणले प्रेस काउन्सिलले कालोसूचीमा राखेको थियो। बार्गेनिङ पत्रकारिताविरुद्ध कडा कानून चाहिन्छ।”
उमेश कुँवरले भने — “कस्तो हावा कुरा लेख्छस्? कानुन विपरीत गरे कारबाही गर, नत्र उद्योगीलाई बदनाम गर्ने यस्तो कुरा बन्द गर।”

गुरुचन वाइबा तामाङले सोधे — “कमिसन आएन होइन त?”
त्यसै तर्जुमामा हरि शर्माले भने — “कति कमिसन खाइस यो समाचार लेख्न?”
किरण चाम्लिङ राईले टिप्पणी गरे — “पत्रकारले करेन्टसँग फिरौती मागेको होला, नपाएपछि यस्तो लेख्यो।”
पुरन बम मल्लले पनि लेखे — “कति पैसा खाइस चौधरीबाट?”

लिला प्रसाद पराजुलीले भने — “अरबौं लगानी गरेर हजारौंलाई रोजगारी दिएको कुरा किन देख्दैन पत्रकार? कि जहाँ पनि दलाली चाहिन्छ?”
उमेश कुँवरले थपे — “काठमाडौंबाहिरकाले राम्रो उद्योग चलाए भनेर जल्नेहरू हुन्।”
नारायण घिमिरेले लेखे — “दशैंमा रौसी दिएन कि के हो? पत्रकार दलाली गर्छ।”

कसैले व्यङ्ग्यमा तान्दा दीपक गौतमले लेखे — “तेरो काकाले वाईवाई र बियर पनि बेच्ने गर्छ।”
सिद्धार्थ पाण्डेले भने — “यस्ता नचाहिने कुरा उठाउनेलाई बहिष्कार गरौं।”
फुलारा SSTTले टिप्पणी गरे — “जनताले नखाए बहिष्कार गर्नु — ठग आफैं तह लाग्छ।”

कसैले समाचारलाई “पुरानै कुरा” भने। पशुपति पाण्डेले लेखे — “यो त सबैलाई थाहा भएकै कुरा हो, भ्रम फैलाउन आवश्यक छैन।”
धुंग CVAAले भने — “यसलाई विज्ञापन नदिएर रिसाएको हो, त्यसैले यस्तो लेखेको हो।”
भिमराज घलेले व्यङ्ग्य गरे — “पत्रकारलाई दशैंको खर्च नपाएजस्तो छ।”
गीयानिश दाहालले हाँस्दै लेखे — “ठूलो रहस्य पर्दाफास गरेछस् तोरी।”

केहीले पत्रकारको ढिलो रिपोर्टिङ्गमाथि पनि टिप्पणी गरे। नारायण तण्डनले लेखे — “तिम्रो पत्रकारिता ढिलो रहेछ।”
श्रेठ्ठ Ckले भने — “एक जना मालिकका सयौं व्यवसाय हुन्छन् — त्यसमा के गुनासो?”
बलबहादुर गौतमले सोधे — “सबै उद्योगीलाई सकेर देश बनाउने तिमीहरू हो?”

साथै, मोनिका दाहालले व्यावसायिक दृष्टिकोणबाट लेखे — “Parent company ले subsidiary खोल्नु सामान्य कुरा हो, Meta कम्पनी जस्तै।”
अम्म मगरले भने — “व्यापारीले बजार हेरेर उत्पादन गर्छ, लिने–नलिने उपभोक्ताको कुरा हो।”
कर्की सुन्दरले जानकारी दिए — “भोला र करेन्ट मात्रै होइन, त्यही मालिकका होटल र अस्पताल पनि छन् बुटवलमा।”

यता केहीले कठोर प्रतिक्रिया दिए। बिपिन उवाडीले लेखे — “करेन्ट र भोला नेपालमै बन्द हुनुपर्छ।”
खेमराज भुसालले भने — “खतरनाक रहेछ।”
सुर्य कुमार पौडेलले छोटकरीमा लेखे — “कडा।”

तारा पराजुलीले लेखे — “पत्रकारले खान नपाएर यस्तो लेखेको हो।”
अनिल शाहले भने — “यो मिडियाले घुस नपाएर यस्तो हेडलाइन बनाएको हो।”
सन्दीप क्षेत्रीले थपे — “यस्ता पत्रकार र संजालले देश सक्ने हुन्।”

अन्ततः, करेन्ट नुडल्स र गुट्खा विवादले फेसबुकमा जनताको असन्तुष्टि, व्यङ्ग्य र बचाउ सबै एकैसाथ उजागर गर्‍यो।
तर सबैभन्दा बढी गुञ्जिएको प्रश्न भने यही रह्यो —
“गुट्खा करेन्ट चाउचाउभित्र हालेर बेचेको त हैन नि?”
यो वाक्य नै अहिलेको बहसको केन्द्र बनेको छ — जसले समाचारभन्दा बढी जनताको दृष्टिकोण उजागर गरेको छ।


सूचना: करेन्ट नुडल्ससम्बन्धी थप समाचार पढ्नका लागि तलको करेन्ट चाउचाउ ट्यागमा क्लिक गर्नुहोस्।

करेन्ट चाउचाउ

संम्बधित खबर