समाचार

भारत सरकारको १ अर्ब १६ करोड सहयोगमा नेपालका ११ सामुदायिक परियोजना अघि बढ्ने

भारत सरकारको १ अर्ब १६ करोड सहयोगमा नेपालका ११ सामुदायिक परियोजना अघि बढ्ने

काठमाडौं । भारत सरकारले अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य र फोहोर व्यवस्थापन क्षेत्रमा ११ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाउने भएको छ।

काठमाडौँस्थित भारतीय राजदूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सम्बन्धित कार्यान्वयन निकायबीच सोमबार (कार्तिक २४) समझदारी पत्रमा हस्ताक्षर भएको हो।

यी परियोजनाहरूको कुल अनुमानित लागत करिब नेरु १ अर्ब १६ करोड रहनेछ।
परियोजनामध्ये कर्णालीको कालीकोट, सुदूरपश्चिमको कञ्चनपुर र दार्चुला, मधेशको रौतहट, कोशीको झापा, सुनसरी, उदयपुर र इलाम, लुम्बिनीको कपिलवस्तु र गण्डकीको बागलुङ जिल्लामा विद्यालय, अस्पताल र फोहोर व्यवस्थापन केन्द्र निर्माण गरिनेछ।

भारत सरकारले सन् २००३ यता नेपालका सातै प्रदेशमा ५९० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको छ, जस मध्ये ५०२ परियोजना सम्पन्न भइसकेका छन्।

राजदूतावासका अनुसार यी परियोजनाहरूले नेपाल सरकारको प्राथमिकता क्षेत्रमा पूर्वाधार सुदृढ गर्न र स्थानीय जनताको सशक्तीकरणमा सहयोग पुर्‍याउनेछ।

भारत सरकार