समाचार

नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ अड्भाइजर्स बीच साना तथा मझौला उद्यमको सुदृढीकरणका लागि साझेदारी

नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ अड्भाइजर्स बीच साना तथा मझौला उद्यमको सुदृढीकरणका लागि साझेदारी

काठमाडौँ । नबिल बैंक र नेपाल इन बिजनेश–ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच साना तथा मझौला उद्यम (एसएमई) लाई अनुदान तथा प्राविधिक सहयोगमार्फत सुदृढ बनाउन लक्षित नयाँ रणनीतिक सहकार्य सुरु भएको छ। यसका लागि नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र एनआइबी–जिए कार्यक्रमका प्रमुख रतिस बस्न्यातबीच सहकार्य पत्रमा हस्ताक्षर गरिएको हो।

यस साझेदारीअन्तर्गत फरेन, कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिस (एफसिडिओ) ले एनआइबी–जिए मार्फत नबिल बैंकले निर्धारण गरेका प्राथमिक क्षेत्र र भौगोलिक दायराभित्रका ४० साना तथा मझौला उद्यमलाई करिब ८४ करोड रुपैयाँ (४.५ मिलियन पाउण्ड) बराबरको अनुदान उपलब्ध गराउनेछ। यो अनुदानले उद्यमहरूको उत्पादन क्षमता विस्तार, सेवा गुणस्तर सुधार तथा निर्यात उन्मुख व्यवसाय विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

नबिल बैंकका सिइओ ज्ञवालीले साझेदारीले उद्यमीको आत्मविश्वास बढाउने उल्लेख गर्दै यो अभियान नीति निर्मातासँग समन्वय गर्दै एसएमई क्षेत्रको समग्र विकासमा सहयोगी हुने बताए। उनका अनुसार, परियोजनाअन्तर्गत बैंकले साझेदार संस्थाहरूसँग मिलेर एसएमई कर्जा तथा च्यानल फाइनान्सिङ सुविधा उपलब्ध गराउनेछ।

एनआइबी–जिए कार्यक्रम प्रमुख बस्न्यातले अनुदान व्यवस्थापनमा नबिल बैंकले देखाएको पारदर्शिता र संरचित प्रक्रियाप्रति धन्यवाद व्यक्त गरे। उनका अनुसार, यस्तो सहकार्य मोडेल अन्य विकास परियोजनामा पनि प्रभावकारी रूपमा लागू गर्न सकिनेछ, र सरकारले पुँजीगत खर्चको कार्यान्वयन सुधारका लागि यस ढाँचाबाट सिक्न सक्ने उल्लेख गरे।

साझेदारीअनुसार नबिल बैंकले कार्यक्रमको वित्तीय साझेदारका रूपमा अनुदान वितरण, वित्तीय व्यवस्थापन तथा सबै प्रक्रियाको पारदर्शिता सुनिश्चित गर्नेछ। पाँच वर्षे अवधिको एनआइबी–जिए परियोजना यूके इन्टरनेशनल डेभलपमेन्टको वित्तीय सहयोगमा डिएआई ग्लोबल यूकेद्वारा कार्यान्वयन भइरहेको छ।

चार दशकदेखि नेपाली बैंकिङ क्षेत्रमा अग्रणी नबिल बैंक अहिले २५ लाखभन्दा बढी ग्राहकलाई २६८ शाखा र ३२१ एटिएममार्फत सेवा दिँदै आएको छ। नवीनतम प्रविधि र सेवाको सुरुुवातमा अग्रस्थानमा रहेको नबिल बैंकले आधुनिक बैंकिङ विकासमा निरन्तर महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

नबिल बैंक र नेपाल इन बिजनेश