सरकार ढल्न दिए पनि यी मूल्य बेच्दैनौं: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका आधारभूत मूल्य र मान्यतामा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन्। उनले विधिको शासन, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता कांग्रेसका लागि सर्वोच्च प्राथमिकता रहेको बताए।
थापाले वर्तमान सरकार कांग्रेसको चाहनाभन्दा परिस्थितिले जन्माएको भन्दै, अब बाँकी समयको अधिकतम सदुपयोग गर्ने दाबी गरे। "हामीलाई कुनै विकल्प थिएन, सरकार बनाउन एमालेसँग सहकार्य गर्नुपर्यो। तर, हाम्रो प्राथमिकता सरकार टिकाउनु मात्र होइन, समय खेर नफाल्नु हो," उनले भने।
उनका अनुसार कांग्रेसले सात बुँदे सहमति अनुरूप तीन वर्षसम्म आलोपालो सरकार चलाउनेछ। उनले सरकार परिवर्तनको खेलमा नलाग्ने संकेत गर्दै भने, "हामीले एमालेसँग मिलेर सरकार बनाएका छौं, अब निश्चित समयपछि सभापतिजीको नेतृत्वमा सरकार जान्छ।"
थापाले कांग्रेस सरकारमा भए पनि मुलुकका मूल्यमान्यतामा सम्झौता नगर्ने दोहोर्याए। "यदि विधिको शासन, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामा सम्झौता गर्नुपर्ने अवस्था आयो भने कांग्रेस सरकारभन्दा पनि ती मूल्यलाई प्राथमिकता दिनेछ। विश्वास छ, एमाले पनि यसमा स्पष्ट छ," उनले थपे।
गगन थापा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा