खनालको भेटघाटले खुलायो नयाँ आर्थिक साझेदारीको बाटो

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा सहभागी हुन अमेरिकाको वाशिङ्टन डीसी पुगेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पछिल्ला दुई दिनमा विविध आर्थिक साझेदारीका विषयमा महत्वपूर्ण भेटघाट र छलफलहरू सम्पन्न गरेका छन्।
सोमबारदेखि सुरु भएको औपचारिक कार्यक्रमबीच मन्त्री खनालले मंगलबार अमेरिकाका उपव्यापार प्रतिनिधि व्रायन स्वीजरसँग भेट गरी नेपाल–अमेरिका द्विपक्षीय व्यापार, कर नीतिहरू र लगानी वातावरण सुधारका विषयमा विस्तृत चर्चा गर्नुभएको थियो। अमेरिकी पक्षका अनुसार उक्त छलफल “उपयोगी र सकारात्मक” रहेको वाशिङ्टनस्थित नेपाली दूतावासले जानकारी दिएको छ।
सोही दिन अर्थमन्त्री खनालले विकासका लागि साउदी फण्डका अध्यक्ष अब्दुल रहमान अल मर्सदसँग पनि भेटघाट गर्नुभएको थियो। उक्त छलफलमा नेपालमा पूर्वाधार र ऊर्जा क्षेत्रमा साउदी फण्डको सम्भावित सहकार्यका विषयमा ध्यान केन्द्रित गरिएको दूतावासले जनाएको छ। यसअघि उनले नेपालको विकास साझेदारीमा संलग्न अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिहरूसँग समेत विचार–विमर्श गरेका थिए।
यी भेटघाटमा अमेरिकास्थित नेपाली राजदूत लोकदर्शन रेग्मी, दूतावासका अधिकारीहरू, मन्त्री खनालको भ्रमण टोलीका सदस्य तथा सम्बन्धित निकायका प्रतिनिधिहरू सहभागी थिए।
वाशिङ्टन डीसीमा भइरहेको यो श्रृंखलाबद्ध कूटनीतिक र आर्थिक संवाद नेपालका लागि अन्तर्राष्ट्रिय लगानी, कर सुधार र दिगो साझेदारी विस्तारतर्फको एउटा महत्वपूर्ण कडीका रूपमा हेरिएको छ। आगामी दिनमा यी छलफलहरूले नेपालको आर्थिक कूटनीति अझ सशक्त दिशातर्फ अघि बढाउने अपेक्षा गरिएको छ।