समाचार

बालेन साहको नयाँ चाल: गुरागाईंलाई हटाएर बदला लिन खोजेको रहस्य बाहिर!

बालेन साहको नयाँ चाल: गुरागाईंलाई हटाएर बदला लिन खोजेको रहस्य बाहिर!

काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत (सीएओ) सरोज गुरागाईंलाई हटाउने प्रयास फेरि सुरु भएको संकेत देखिएको छ। महानगरका मेयर बालेन्द्र साहसँग नजिक मानिने सल्लाहकार सुनिल लम्सालको टोलीले सोमबार दिउँसो गुरागाईंलाई भेटेर पद छोड्न दबाब दिएको स्रोतले जनाएको छ। लम्साल करिब साढे ३ बजे गुरागाईंको कार्यकक्षमा पुगेका थिए र केही समय गोप्य छलफल भएपछि महानगर प्रहरी प्रमुख राजु पाण्डेसहितको टोली पनि त्यहाँ पुगेको बताइएको छ। ती अधिकारीहरूले गुरागाईंलाई राजीनामा दिन चेतावनीयुक्त आग्रह गरेका थिए।

मेयर साह र गुरागाईंबीचको तनाव भ्यू टावर प्रकरणपछि सार्वजनिक रूपमा चर्किएको थियो। पुरानो बसपार्कमा निर्माणाधीन अत्याधुनिक भ्यू टावरमा ठेकेदारसँग मिलेर अनियमितता गरेको आरोप साहले लगाउँदै गुरागाईंलाई निलम्बन गरेका थिए। त्यसबेलै महानगरले छानबिन समिति गठन गरे पनि संघीय सरकारले नयाँ सीएओ नपठाएपछि महानगर लामो समय नेतृत्वविहीन रह्यो। अन्ततः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई नै पुनः जिम्मेवारीमा फर्काउने निर्णय गरेको थियो।

गुरागाईंको पुनरागमनप्रति साह असन्तुष्ट रहेको बताइन्छ। आफू निकटका अधिकारी ल्याउने प्रयास संघीय सरकारले रोकेपछि मेयरको असन्तोष झनै बढेको स्रोतहरूले जनाएका छन्। हाल देशको राजनीति आफ्नो अनुकूल मोडिएको आकलन गर्दै उनले गुरागाईंलाई हटाएर बदला लिन खोजेको व्याख्या स्रोतहरूको छ।

यता, मेयरका सल्लाहकार सुनिल लम्सालमाथि भने विगतदेखि नै विभिन्न ठेक्कापट्टामा विवादास्पद संलग्नता रहेको आरोप लाग्दै आएको छ। दरबारमार्ग क्षेत्रको फुटपाथमा जडान गरिएको मार्बल उप्काउने विवादास्पद निर्णयमा समेत उनको भूमिकाबारे प्रश्न उठाइएको थियो।

महानगरभित्र फेरि उत्पन्न भएको यो तानातानले स्थानीय शासनमा स्थायित्व र विश्वास कसरी कायम हुन्छ भन्ने प्रश्नलाई अझ गम्भीर बनाएको देखिन्छ।