थापाथली, टुकुचा र पशुपति अब सुरक्षित छैनन्: बालेनको डोजर फेरि गर्जन तयारीमा!
 
                                काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले विगतमा सुरु गरेका तर बीचमै अल्झिएका अतिक्रमण हटाउने अभियान फेरि सक्रिय हुने संकेत देखिएको छ। थापाथलीस्थित सुकुम्बासी बस्ती, बागमती किनार, टुकुचा खोलाको अतिक्रमण र पशुपति धर्मशालासहितका विवादास्पद संरचना हटाउने काम तत्कालीन गृहमन्त्री रबि लामिछाने र नेपाल प्रहरीले पर्याप्त सहयोग नगरेकाले अधुरै रोकिएको स्रोतहरूले बताएका छन्।
२०२२ नोभेम्बरमा थापाथलीको बस्ती हटाउने प्रयासमा महानगर प्रहरी र स्थानीय बासिन्दाबीच भएको झडपपछि वातावरण तनावपूर्ण बनेको थियो। त्यसबेला आवश्यक सुरक्षा सहयोग नपाउँदा बस्ती हटाउने अभियान अपूरो बनेको महानगरभित्रै स्वीकारिएको छ। त्यस्तै, टुकुचा खोलामाथि बनेका अवैध संरचना भत्काउने र पशुपति धर्मशालाभित्रको अतिक्रमण फुकुवा गर्ने योजना पनि तत्कालीन परिस्थितिमा अघि बढ्न सकेन।
महानगरसँग नजिक स्रोतका अनुसार, मेयर साह अहिले आफ्नै निकट मानिने व्यक्तिलाई गृहमन्त्रीको जिम्मेवारीमा ल्याएर त्यतिबेला रोकिएका सबै अभियान पूरा गर्ने तयारीमा छन्। उनी अतिक्रमणलाई काठमाडौँको दीर्घकालीन समस्या ठान्दै यसलाई समाधान गर्न बलपूर्वक अघि बढ्ने मनस्थितिमा रहेको बुझिएको छ।
स्थानीय राजनीतिक दबाब, संघीय निकायको असहयोग र सुरक्षाकर्मीको आधा–अधुरो उपस्थितिका कारण रोकिन पुगेका योजनाहरूलाई अब फेरि निरन्तरता दिने कि नदिने भन्ने प्रश्नले राजधानीको आगामी प्रशासनिक र राजनीतिक परिदृश्यलाई नै प्रभावित गर्ने देखिन्छ।
 
                         
                                                         
                                                         
                                                         
                                                