समाचार

इरानले ट्रम्पको शान्ति प्रस्ताव अस्वीकार गर्दै अमेरिकालाई दोहोरो मापदण्ड र शत्रुतापूर्ण व्यवहारको आरोप

इरानले ट्रम्पको शान्ति प्रस्ताव अस्वीकार गर्दै अमेरिकालाई दोहोरो मापदण्ड र शत्रुतापूर्ण व्यवहारको आरोप

इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति प्रस्तावलाई औपचारिक रूपमा अस्वीकार गरेको छ, उक्त प्रस्तावलाई “वास्तविक कदमभन्दा विपरीत र दोहोरो व्यवहारको उदाहरण” भन्दै तीव्र आपत्ति जनाएको छ। मङ्गलबार जारी विज्ञप्तिमा इरानको विदेश मन्त्रालयले भनेको छ, “अमेरिकी राष्ट्रपति ट्रम्पले व्यक्त गर्नुभएको शान्तिको इच्छा र वार्ताको आह्वान इरानी जनताप्रति वाशिङ्टनले अपनाइरहेको शत्रुतापूर्ण र आपराधिक गतिविधिसँग मेल खान सक्दैन।”

तेहरानले विशेष रूपमा गत जुन महिनामा इजरायलले अमेरिकी समर्थनमा गरेको हवाई आक्रमणलाई स्मरण गर्दै उक्त प्रस्तावलाई “अविश्वसनीय” ठहर गरेको छ। इरानी पक्षका अनुसार, ती आक्रमणहरूमा आणविक र सैन्य केन्द्रहरूसँगै आवासीय क्षेत्रहरू लक्षित भएका थिए, जसमा सयौँ नागरिकको मृत्यु र हजारौँ घाइते भएका थिए। इरानले यसलाई “क्षेत्रीय स्थायित्वमा दीर्घकालीन आघात” मान्दै आएको छ।

गत जुन महिनाको मध्यतिर सुरू भएको इजरायल–इरान युद्ध १२ दिनसम्म चलेको थियो। ती दिनहरूमा अमेरिकाले पनि प्रत्यक्ष रूपमा इरानी आणविक साइटहरूमा प्रहार गरेको इरानको दाबी छ, जसका कारण दुई देशबीच चल्दै आएको आणविक वार्ता पूर्ण रूपमा स्थगित भएको थियो। त्यसपछि इरानले मिसाइल र ड्रोन आक्रमणद्वारा प्रतिकार गरेको थियो, जसले इजरायलमा दर्जनौँको मृत्यु गरायो। हाल पनि दुबै देशबीच युद्धविराम कायम भए तापनि सम्बन्ध तनावपूर्ण नै रहेको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार इजरायली संसद् (नेसेट) मा सम्बोधन गर्दै भनेका थिए, “संयुक्त राज्य अमेरिका इरानसँग शान्ति सम्झौता गर्न इच्छुक छ, तर अन्ततः निर्णय तेहरानको हातमा छ।” उनले इरानलाई “आतङ्कवाद परित्याग गर्न, छिमेकीहरूलाई धम्की दिन रोक्न र इजरायलको अस्तित्व अधिकार स्वीकार गर्न” आग्रह गरेका थिए।

तेहरानले भने ट्रम्पको वक्तव्यलाई “गैरजिम्मेवार र उक्साहटपूर्ण” भन्दै खारेज गरेको छ। इरानी विदेश मन्त्रालयले विज्ञप्तिमा लेखेको छ, “कसरी कुनै राष्ट्रले वार्ताको कुरा गर्न सक्छ जब उसैले इरानका आवासीय क्षेत्रमा बमबारी गरेर निर्दोष महिला र बालबालिकाको ज्यान लिएको छ?”

इरानले अमेरिकालाई “दोहोरामापदण्डको नीतिकार, आतङ्कवादको उत्पादक र यहूदी शासनको अन्धसमर्थक” भन्दै कडा शब्दमा आलोचना गरेको छ। वक्तव्यमा थपिएको छ, “जबसम्म संयुक्त राज्यले आफ्नो शत्रुतापूर्ण नीति र दोहोरो व्यवहार त्याग्दैन, त्यतिबेलासम्म कुनै पनि प्रकारको संवाद वा विश्वास सम्भव हुने छैन।”

यो कूटनीतिक ठोक्कावले मध्यपूर्वमा स्थायित्व खोज्ने प्रयासहरू फेरि चुनौतीमा परेको देखिन्छ। विश्लेषकहरूले यो घटनालाई अमेरिकी र इरानी सम्बन्धका लागि अर्को विश्वास–संकटको संकेत मानिरहेका छन्—जहाँ युद्धको अन्त्य भन्दा पनि आरोप–प्रत्यारोपको चक्र अझै बाँकी छ।