प्रभु साहलाई ओलीको जवाफ- के म मेनपावरको मान्छे हुँ ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद प्रभु साहको प्रश्नमाथि आपत्ति जनाएका छन्। उनले आइतबार प्रतिनिधिसभामा भएको प्रश्नोत्तरमा सांसद साहको अपमानजनक प्रश्नको जवाफ दिँदै आक्रोश व्यक्त गरे।
सांसद साहले संसद जस्तो गरिमामय स्थानमा प्रधानमन्त्री ओलीलाई "युवा विदेश पठाएर तपाईंलाई के लाभ भयो?" जस्ता सवाल गरेका थिए। यी शब्दलाई अस्वीकार गर्दै प्रधानमन्त्री ओलीले भने, "के म मेनपावर कम्पनीको मान्छे हुँ?" उनले सांसद साहको प्रश्नमा विरोध र आक्रोश झल्किएको र त्यसमा कुनै उत्तर नदिने बताएका थिए।
प्रधानमन्त्री ओलीले थपे, "उहाँको प्रश्नमा उत्तर बोकेर आउनु भएको छ, यो प्रश्नको कुनै आवश्यकता छैन।" उनले आफ्नो गम्भीर नाराजगी प्रकट गर्दै भने, "संसदमा यस्तो अपमानजनक भाषा प्रयोग गर्नु उचित छैन।"
‘नेपाली नागरिकता परित्याग गरी विदेश नागरिकता लिनेहरुको संख्या कति छ ?उनीहरुको पैत्रिक सम्पत्ति के कति थियो र अहिले कति छ ?ती अवैध सम्पत्तिलाई राज्यको स्वामित्वमा ल्याउन तपाईले के–के गर्नुभयो ? खुलेआम अवैध सम्पत्तिलाई विदेश लैजाँदा रोक्न नसक्ने सरकारलाई हामीले के भन्ने ? सक्षम कि असक्षम ? झण्डै ७० लाख भन्दा नेपाली युवा अहिले वैदेशीक रोजगारीमा छन् ।
श्रम सम्झौताअनुसार वर्षमा झण्डै ४० खर्ब रेमिट्यान्स नेपाल आउनुपर्ने हो तर अहिलेको रिपोर्ट बुझ्दा यो वर्ष १३ देखि १४ खर्ब मात्र आउने सम्भावना छ । मेरो प्रश्न छ । नेपालीले विदेशमा खुन पसिना बगाएर कमाएको पैसा हुन्डिमार्फत खुलेआम कालोधनसँग मिलन भइराख्दा तपाईं किन मौन बस्नुभयो । संख्याको अनुपातमा ती रेमिटेन्स सबै किन नेपाल आएन ? विदेशमा तीनिहरुले ट्रेड युनियनको हक नपाउनेगरी श्रम सम्झौता गर्नुभयो ? अहिलको शताव्दीमा नेपाली नागरिकलाई दासकीय जीवनमा धकेल्दा तपाईहरुले के कति लाभ पाउनुभयो ?’उनको प्रश्न थियाे ।