समाचार

भारतको सहयोगमा सुनसरीको त्रिभुवन माध्यमिक विद्यालय भवन निर्माण सुरू

भारतको सहयोगमा सुनसरीको त्रिभुवन माध्यमिक विद्यालय भवन निर्माण सुरू

सुनसरी – भारत सरकारको आर्थिक सहयोगमा सुनसरी जिल्लाको इनरुवा नगरपालिका-४ स्थित श्री त्रिभुवन माध्यमिक विद्यालयको नयाँ भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। मंगलबार आयोजित विशेष कार्यक्रममा प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र बहादुर कार्की, काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव र इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन्।

शिलान्यास कार्यक्रममा स्थानीय राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, सामाजिक अगुवा, शिक्षक, विद्यार्थी र अभिभावकहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

भारत सरकारको २.४८३ करोड अनुदान
‘नेपाल-भारत विकास सहयोग’ कार्यक्रमअन्तर्गत भारत सरकारको २ करोड ४८ लाख ३० हजार रुपैयाँ (नेरु. २.४८३ करोड) अनुदानमा विद्यालय भवन निर्माण हुन लागेको हो। परियोजना अन्तर्गत दुई तले विद्यालय भवन र अन्य आवश्यक पूर्वाधार निर्माण गरिनेछ।

नेपाल सरकारको प्राथमिकताका क्षेत्रमा भारत सरकारको लगानी अन्तर्गत यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) का रूपमा सञ्चालन गरिँदैछ। विद्यालय भवन निर्माण कार्य इनरुवा नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ।

विद्यालयको इतिहास र विद्यार्थी संख्या
वि.सं. २०१५ (सन् १९५८) मा स्थापना भएको श्री त्रिभुवन माध्यमिक विद्यालयले कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीलाई शिक्षादान गर्दै आएको छ। हाल विद्यालयमा करिब ७५० विद्यार्थी अध्ययनरत छन्, जसमा ५५ प्रतिशत छात्रा रहेका छन्।

भारत-नेपाल विकास साझेदारीको निरन्तरता
भारतीय नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले नेपालमा भारत सरकारद्वारा सञ्चालित विकास परियोजनाको चर्चा गर्दै सन् २००३ यता ५६३ उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) नेपालभर सञ्चालनमा ल्याइएको जानकारी दिए। ती परियोजनामध्ये मात्र कोशी प्रदेशमै ९१ वटा परियोजना रहेका छन्।

त्यस्तै, भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरूलाई हालसम्म १००९ एम्बुलेन्स र ३०० विद्यालय बस प्रदान गरिसकेको छ। कोशी प्रदेशमा मात्र १४६ एम्बुलेन्स र ४८ विद्यालय बस प्रदान गरिएका छन्। श्रीवास्तवले भारत-नेपाल विकास साझेदारीलाई अझ विस्तार गर्न भारत सरकार प्रतिबद्ध रहेको पनि बताए।

स्थानीय प्रतिनिधिहरूको प्रतिक्रिया
कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरूले भारत सरकारको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गर्दै विद्यालय भवन निर्माणले सुनसरीका विद्यार्थीहरूको पठनपाठनमा सुधार ल्याउने विश्वास व्यक्त गरे। विद्यालय व्यवस्थापन समिति तथा नगरपालिकाका अधिकारीहरूले यो परियोजनाले सिकाइको लागि राम्रो वातावरण सिर्जना गर्ने र पूर्वी नेपालमा शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे।

भारत-नेपाल सम्बन्धको अभिव्यक्ति
कार्यक्रममा भारतीय राजदूतावासका प्रतिनिधिहरूले नेपाल-भारतको ऐतिहासिक मित्रता, आर्थिक सहकार्य र विकास साझेदारीलाई थप बलियो बनाउन भारत सरकार सधैं प्रतिबद्ध रहेको बताए। शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारको क्षेत्रमा भारत सरकारले नेपाललाई निरन्तर सहयोग गरिरहेको र आगामी दिनमा पनि नेपाली जनताको आवश्यकताका आधारमा सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गरियो।

विद्यालय भवनको निर्माण सम्पन्न भएपछि विद्यार्थीहरूले नयाँ, सुरक्षित र सुविधासम्पन्न कक्षाकोठा पाउनेछन्, जसले सिकाइ वातावरणलाई अझ सहज बनाउने विश्वास गरिएको छ।

सुनसरी भारत सरकारको आर्थिक सहयोग