केपी ओलीको अडान फेरियो: आयोगलाई दिए बयान, तर हस्ताक्षर भएन
ओलीको मौखिक बयान उतार्न र हस्ताक्षर गराउन बाँकी
भदौ २३ र २४ गतेको घटनामाथि छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बयान रेकर्ड गरेको छ ।
आयोगका कर्मचारीले आज गुण्डु पुगेर बयान रेकर्ड गरेका हुन् । शुक्रबार नै लिखित प्रश्न पठाएर औपचारिक पत्र बुझाउन आज गएको टोलीलाई ओलीले घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै मौखिक बयान दिएको आयोगसम्बद्ध स्रोतले जानकारी दियो ।
आयोगका पदाधिकारीले त्यसलाई रेकर्ड गरेर ल्याएका छन् । ‘हामीले निश्चित प्रश्न सोधेका थियौँ तर, उहाँले प्रश्नतिर नगई आफ्नै कथा सुनाउनुभयो’, स्रोतले बयानबारे खुलायो, ‘धेरैजस्तो मिडियामा बोलेकै कुरा छन् ।’
ओलीको मौखिक धारणालाई शब्दमा उतारेर हस्ताक्षर गराउने आयोगको तयारी छ । ‘यसलाई जस्ताको तस्तै उतारेर उहाँको हस्ताक्षर गराउँछौँ, त्यसपछि बयानले औपचारिकता पाउँछ’, स्रोतले भन्यो ।
ओलीले यसअघि सुशीला कार्की नेतृत्वको सरकारलाई ‘हाहाहुहुको सरकार’ भन्दै आयोगलाई बयान नदिने अडान राख्दै आएका थिए । तर, सेनापति र तत्कालीन गृहमन्त्रीको बयानपछि दबाबमा परेका उनले पछिल्लो समय भने आयोगको टोली गुण्डु आए चिया खुवाएर पठाउने बताएका थिए ।
यसबारे आयोगका पदाधिकारीले प्रधानमन्त्री कार्कीसँग सल्लाह गरेका थिए । चुनावको वातावरण नबिथोलियोस् भन्ने हिसाबले गुण्डुमा बयान लिन प्रधानमन्त्रीले सुझाएकी थिइन् । तर, आयोगका पदाधिकारी ओलीको घर जान नमानेपछि मध्यमार्गी विकल्पका रूपमा कर्मचारीलाई पठाइएको हो ।
‘अब उहाँले हाम्रो अफिसमा आएर बयान दिइरहनु परेन । सेफ ल्याण्डिङ भयो’, स्रोत भन्छ, ‘आयोगको अस्तित्वसमेत स्वीकार नगर्ने मान्छे बयान दिन राजी भए । राज्यले जित्यो ।’