४२ रोपनी गुठीको जग्गा हडपियो! मेडिकल कलेजको नाममा धर्ममाथि हमला?

नेपाल मेडिकल कलेजमाथि गुठी जग्गा हडपेको गम्भीर आरोप, छानबिन हुने

४२ रोपनी गुठीको जग्गा हडपियो! मेडिकल कलेजको नाममा धर्ममाथि हमला?

काठमाडौं— नेपाल मेडिकल कलेज (NMC) फेरि एकपटक विवादमा तानिएको छ। यस पटक विवादको केन्द्रमा छ, गुठी संस्थानको नाममा रहेको करिब ४२ रोपनी बहुमूल्य जग्गा। कलेज प्रशासनले गैरकानुनी तथा अनैतिक रूपमा गुठीको जग्गा आफ्नो नियन्त्रणमा लिएको आरोप लागेको छ। नेपाल मेडिकल कलेज स्रोत स्वयंले पनि यो विषय स्वीकारेको छ।

प्राप्त विवरणअनुसार, काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको कित्ता नम्बर १९२ अन्तर्गत रहेको खोल्सी कायम भएको करिब ९ आना जग्गासहित कूल ४२ रोपनी गुठी जग्गा कलेजले स्थायी संरचना निर्माण गरी प्रयोग गर्दै आएको छ। यो जग्गा करिब २०५६/५७ सालतिर वाङ्देल शेर्पाबाट खरिद गरिएको बताइन्छ। तर हाल यो जग्गा गैरहिन्दू सञ्चालक भएको संस्थाको कब्जामा पुगेको छ।

यसै सन्दर्भमा राष्ट्रिय एकता अभियानका अध्यक्ष बिनय यादबले यस विषयलाई लिएर कडा प्रतिक्रिया दिएका छन्। उनले भने, "गुठीको जग्गा कुनै पनि व्यक्ति वा निजी संस्थाले प्रयोग गर्न सक्दैन। यो जग्गा तत्काल खाली गराएर राष्ट्रहितमा प्रयोग गर्नुपर्छ। सरकार छानबिन गर्न नसके राष्ट्रिय एकता अभियानले कडा कदम चाल्नेछ।"

नेपाल मेडिकल कलेजले स्थानीय तहदेखि केन्द्रसम्म ‘सेटिङ्ग’ गरेर अनियमितता गरेको आरोपसमेत छ। यसबारे गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक कुमार रिसालले भने, "अनियमितताको जानकारी अहिलेसम्म आएको थिएन। तर अब यस विषयमा तत्कालै छानबिन गर्नेछौँ। दोषी पाइएमा कडा कारबाही हुनेछ। यो घटना ०५२/५३ सालतिरको हो, हामी त हालै आएका हौं। अब लालपुर्जा मगाएर सत्यतथ्य बाहिर ल्याउँछौँ।" उनले सेटिङ्ग र अनियमितताको आरोपलाई भने अस्वीकार गरे।

उता गुठी संस्थान र नेपाल मेडिकल कलेजबीचको यो जग्गा विवाद सर्वोच्च अदालतमा विचाराधीन छ। अदालतबाट न्याय निरुपणको चरणमा रहे पनि विवादित जग्गा हालसम्म कलेजकै नियन्त्रणमा रहनुले प्रश्नहरू उठाएको छ।


गुठी संस्थानको ऐतिहासिक महत्व

गुठी संस्थान नेपालको सभ्यता, धर्म र संस्कृतिको गहिरो जरोसँग जोडिएको संस्थागत व्यवस्था हो। हाम्रो समाजमा गुठी परम्परा कुनै व्यक्तिको निजी सम्पत्ति होइन। हाम्रा पुर्खाहरूले आफ्ना जीवनभरको कमाइबाट सार्वजनिक हितका लागि मठ–मन्दिर, पाटी–पौवा, बाटो–घाट, सार्वजनिक विद्यालय र अस्पतालजस्ता उपयोगी संरचना स्थापनाका लागि छुट्याएका जग्गा र सम्पत्तिहरूलाई गुठी जग्गाका रूपमा व्यवस्थापन गर्दै आएका छन्।

गुठी सम्पदा केवल जग्गा–जमिन मात्रै नभई हाम्रो कला, संस्कृति, धर्म र राष्ट्रिय पहिचानको अभिन्न अंग हुन्। यी सम्पदाहरू नासिए वा हडपिए राष्ट्रको मौलिक पहिचान नै संकटमा पर्न सक्ने विज्ञहरू बताउँछन्। गुठी जग्गा व्यक्तिको निजी लाभका लागि नभई समग्र समाज र राष्ट्रका लागि सदुपयोग गर्नुपर्ने हुन्छ।

गुठी संस्थानको इतिहास हेर्दा वि.सं. २०२१ साल कात्तिक १७ गते राज्यले ऐन मार्फत गुठी सम्पदाको संरक्षण र व्यवस्थापन गर्न गुठी संस्थान स्थापना गरेको थियो। त्यसयता संस्थानले नै सम्पूर्ण गुठीको व्यवस्थापन गर्दै आएको छ।

हालसम्म पनि गुठी संस्थानको जग्गा निजी वा व्यावसायिक संस्थाले अनियमित तरिकाले कब्जा गरेको विषय बारम्बार उठ्ने गरेको छ। त्यसमध्ये नेपाल मेडिकल कलेजले गरेको यो कब्जाको घटनाले फेरि गुठी व्यवस्थापन र नियमनमा प्रश्न उठाएको छ।

नेपाल मेडिकल कलेजले औपचारिक खण्डन गर्दै आएका भए पनि कब्जा गरिएको जग्गाको वैधानिकता, दाताबाट खरिद गर्ने क्रममा पालन गरिएको कानुनी प्रक्रियाहरू तथा धार्मिक, सांस्कृतिक र राष्ट्रिय सम्पत्तिमा पर्ने प्रभावबारे स्पष्ट जवाफ अझै दिएको छैन। यस्तै, स्थानीय तहदेखि केन्द्रसम्मको भनिएको सेटिङ्ग र राजनीतिक प्रभावको आरोपबारे पनि स्पष्ट जवाफ आएको छैन।

हालै कलेज प्रशासनले पत्रकारलाई धम्की दिएको आरोप सार्वजनिक भइरहेका बेला यो जग्गा प्रकरण सतहमा आउँदा संस्थाको प्रशासनिक नैतिकतामाथि थप गम्भीर प्रश्न उब्जिएको छ।

यो घटनाको विस्तृत विवरण र थप अनुसन्धानका तथ्यहरू आउँदा दिनमा हामी सार्वजनिक गर्दै जानेछौँ। सम्पूर्ण तथ्य र विवरणहरू खोज्दै, आम जनताको जानकारीका लागि निष्पक्ष र विश्वसनीय पत्रकारिताको अभ्यास जारी रहने प्रतिबद्धता नेपाल आजले दोहोर्‍याउँछ।

थप समाचार हेर्न यहाँ क्लिक गर्नुहोस 

नेपाल मेडिकल कलेज

संम्बधित खबर