विचार

दिलभूषण भए पनि गलत समाचार छाप्नु भएन, छापिएको भए पनि माफी माग्न लाज मान्नु भएन

दिलभूषण भए पनि गलत समाचार छाप्नु भएन, छापिएको भए पनि माफी माग्न लाज मान्नु भएन

अनुभवबाट लेख्दै – घनश्याम त्रिपाठी


आज बिहान म मोटरसाइकल सर्भिसको कामले घरबाट कोटेश्वर निस्किएँ। बाटोमा ट्राफिकको चेकजाँच चलिरहेको थियो। कोटेश्वरको एसपी अटोमोबाइल पुगेपछि मिस्त्री दाइले भने, “डेढ घण्टा लाग्छ सर्भिस गर्न, तपाईँ चिया खाएर आउनुहोस्।”

म पनि मिस्त्रीको सुझाव मान्दै छेउको सानो चिया पसलमा गएँ। त्यहाँ सानो टुलमा दुई जना चिन्तकजस्ता देखिने व्यक्तिहरू गम्भीर कुराकानी गरिरहेका थिए। बिषय थियो—चर्चित पत्रकार दिलभूषण पाठक।

एउटाले भन्यो, “जे भए पनि पत्रकारमाथि पक्राउ पुर्जी जारी गर्नु हुँदैन थियो।” अर्काले ठोकुवा गरे, “दिलभूषण भए पनि गलत समाचार छाप्नु भएन। छापियो भने माफी माग्न लाज मान्नु भएन। अदालतमा दबाब दिनु त झन् अनुचित भयो।”

पाठकले आफ्नो युट्युब च्यानल TOUGH Talk Explainer मार्फत नक्सालस्थित हिल्टन होटलको सेयर २५ अर्बमा जयवीर देउवाले खरिद गरेको दाबी गरेका थिए। तर उक्त दाबी पुष्टि हुन नसक्ने, तथ्यविहीन र भ्रामक भएको भन्दै जयवीर देउवाले साइबर ब्यूरो काठमाडौँमा उजुरी दर्ता गराएका थिए।

त्यसपछि काठमाडौँ जिल्ला अदालतले जेष्ठ २७ गते पाठकविरुद्ध पक्राउ आदेश जारी गरेको थियो। हालसम्म पाठक पक्राउ परेका छैनन्, तर यो विषय नेपाली सञ्चारजगत र बौद्धिक समाजमा चर्को बहसको विषय बनेको छ।

एकातिर प्रेस स्वतन्त्रताको सवालमा पाठकलाई समर्थन गर्नेहरू छन्, भने अर्कातिर पत्रकारिता एउटा जिम्मेवार पेशा हो भन्ने मान्यतामा अडिक भएर आलोचना गर्नेहरू पनि छन्। गल्ती भयो भने स्वीकार गर्नु महानता हो, अडान जमाएर अझै बढी विवादमा तानिनु पत्रकारिताको मर्यादा विपरीत बन्न सक्छ।

यो विषयले नेपाली समाजमा प्रेस स्वतन्त्रता र उत्तरदायित्वको सीमारेखा के हो? भन्ने गम्भीर प्रश्न उठाएको छ।

अब पत्रकार दिलभूषण पाठकसँग चारवटा बाटो छन् —

१. आफूले भनेका सबै विवरणको प्रमाण सार्वजनिक गर्नु,

२. गल्ती स्वीकार गरी क्षमा माग्नु,

३. संस्थागत सहयोग खोज्दै प्रेस परिसद, महासंघ र अन्य मिडिया संस्थाहरूसँग मिलेर सुरक्षाको पहल गर्नु,

४. वा कानुनी बाटो समात्दै अदालतबाट आफू निर्दोष सावित गर्नु।

जे भए पनि, यो मुद्दा अदालतको प्रक्रियामा छ, र त्यसको अन्तिम निर्णय कानुनी प्रक्रियाबाटै हुनेछ। पत्रकारले पनि सत्यका लागि बोल्ने साहस गर्नुपर्छ, तर गल्ती भए त्यसलाई पनि स्वीकार गर्ने विनम्रता राख्न जान्नुपर्छ।

पाठक गल्ती हुन सक्छन्, तर उनी अपराधी होइनन्। जनताको मूल्यांकन, प्रश्न र संवादबाट नै पत्रकारिताले आफ्नो दिशा पाउँछ।

अब कुरा तपाईंको हो। तपाईंको विचार के हो? हामीले तपाईंलाई तथ्य राख्यौं। कृपया यो समाचार पढेर तपाईंको प्रतिक्रिया तल कमेन्टमा लेख्नुहोस्। किनभने तपाईंको चासो नै हाम्रो पत्रकारिताको मूल्य हो।

दिलभूषण पाठक