नेपाल मेडिकल कलेजको ‘लाजमर्दो षड्यन्त्र’: नर्सहरूको नाममा चल्यो खेल!

नेपाल मेडिकल कलेजको ‘लाजमर्दो षड्यन्त्र’: नर्सहरूको नाममा चल्यो खेल!

काठमाडौं — जोरपाटीस्थित नेपाल मेडिकल कलेज (NMC) ले कब्जा गरेको भनिएको करिब ९ आना सार्वजनिक जग्गाको विषयले थप गम्भीर रूप लिएको छ। नापीअनुसार खोल्सी कायम भएको कित्ता नं. १९२ को जग्गा कुनै पनि निजी संस्थाको नाममा दर्ता हुन नसक्ने नियम हुँदाहुँदै पनि कलेजको नाममा कसरी हस्तान्तरण भयो भन्ने प्रश्न गम्भीर बनेको हो।

उक्त जग्गामा अहिले स्थायी संरचना समेत बनाइएको छ, जसले सार्वजनिक सम्पत्ति संरक्षणको कानुनी प्रावधानहरूको खुला उल्लंघन भएको देखिन्छ। स्थानीय तहमा कलेज प्रशासनले निरन्तर राजनीतिक तथा प्रशासनिक प्रभाव पार्दै यस किसिमको अनियमिततालाई वैधानिक रूप दिने प्रयास गर्दै आएको बताइन्छ।


कस्तो प्रक्रियाबाट कब्जा भयो जग्गा?

वि.सं. २०२१ सालको नापीअनुसार पर्ती, कुलो तथा खोल्सी कायम भएर सार्वजनिक सम्पत्तिका रूपमा रहेको यो जग्गा के प्रक्रिया अपनाएर निजी संस्थाको नाममा ल्याइयो भन्ने प्रश्न हालसम्म पनि स्पष्ट हुन सकेको छैन। नेपाल मेडिकल कलेजले स्थानीय सरकारका प्रमुख, वडा अध्यक्ष, वडा सदस्यलगायतलाई प्रभाव पारेर यो विषयलाई निरन्तर दबाउन प्रयास गर्दै आएको स्थानीय स्रोतहरूको आरोप छ।


नर्सिङ कर्मचारीलाई मोहरा बनाउने प्रयास

यसैबीच नेपाल मेडिकल कलेजका अध्यक्ष प्रो. डा. जैनुद्दिन अन्सारी तथा मेनेजिङ डाइरेक्टर डा. सभिहा यास्मिनले जग्गा कब्जा, कर्मचारी शोषण, मानसिक दबाबलगायतका गम्भीर विषयहरूलाई मोडेर नर्सिङ कर्मचारीका व्यक्तिगत संवेदनशील मुद्दाहरूमा केन्द्रित गराउने रणनीति अपनाएको देखिन्छ। प्राप्त जानकारीअनुसार, अध्यक्ष र मेनेजिङ डाइरेक्टरको निर्देशनमा मेट्रोन नविना सिंहमार्फत नर्सिङ कर्मचारीहरूलाई प्रेस काउन्सिल नेपालमा उजुरी गर्न लगाइएको छ।

नर्सिङ कर्मचारीलाई यस किसिमको उजुरीका लागि हस्ताक्षर सङ्कलन गराउँदा उनीहरूलाई त्यसको वास्तविक उद्देश्य नै जानकारी नगराइएको स्रोतहरूले बताएका छन्। नेपाल आजले पाएको प्रमाणअनुसार मूल उजुरीपत्रमा हस्ताक्षर नभई अलग कागजमा हस्ताक्षर गराइएको छ, जुन प्रक्रिया प्रशासनिक पारदर्शिता, औपचारिकता र अभिव्यक्ति स्वतन्त्रताको दृष्टिले अत्यन्त शंकास्पद छ।


काल्पनिक कथालाई आधार बनाएर उजुरी

उक्त उजुरीमा नेपाल आजमा प्रकाशित  काल्पनिक कथालाई आधार बनाएर चरित्र हननको मुद्दा उचालिएको छ। नर्सिङ कर्मचारीहरू नै आफूहरूले कुन उद्देश्यका लागि हस्ताक्षर गरेका हौं भन्ने कुरामा अनभिज्ञ छन्। एक नर्सले भनिन्, "यो त 'चोरको खुट्टा काट्छु भन्दा चोरले खुट्टा आफैँ उठाएको' जस्तो भयो। हामीले के कागजमा हस्ताक्षर गर्‍यौं भन्ने नै थाहा छैन।"

यो विषयलाई लिएर नियामक निकायहरू पनि त्यही आधारहीन उजुरीका पछाडि लाग्ने संकेत देखिएको छ। यस्तो एकदम बिचित्र, अचम्मलाग्दो, रोचक, अनौठो र हास्यास्पद घटना घटिरहेको भन्दै कर्मचारीहरूले यसलाई प्रशासनिक रूपमा गम्भीर त्रुटिको रूपमा आलोचना गरेका छन्।


व्यवस्थापनको वास्तविक मुद्धा छायाँमा पार्ने रणनीति

नेपाल मेडिकल कलेज प्रशासनले नर्सिङ कर्मचारीको संवेदनशीलताको फाइदा उठाउँदै वास्तविक मुद्दाहरूलाई ओझेलमा पार्ने रणनीति अपनाएको देखिन्छ। सार्वजनिक जग्गा कब्जा, कर्मचारी शोषण, मानसिक दबाब, धरपकड, तथा पेशागत आचरणमा देखिएको त्रुटिलाई छायाँमा पार्न नर्सिङ कर्मचारीलाई मोहरा बनाइएको विज्ञहरूको आरोप छ।

कलेजका अध्यक्ष तथा मेनेजिङ डाइरेक्टरले यस्ता उजुरीहरूलाई उचालेर स्वतन्त्र सञ्चार माध्यममाथि अनुचित दबाब सिर्जना गरेको, र यसले प्रशासनिक पारदर्शिता तथा जवाफदेहितालाई नै कमजोर बनाएको स्पष्ट देखिन्छ।


नेपाल आजको प्रतिबद्धता

नेपाल आजले निरन्तर रूपमा नेपाल मेडिकल कलेजमा भइरहेका कर्मचारी शोषण, दबाब तथा सार्वजनिक जग्गा अतिक्रमणका विरुद्ध आवाज उठाउँदै आएको छ। यस संस्थाले कर्मचारीहरूको व्यावसायिक सम्मान, श्रमिक हक, र प्रेस स्वतन्त्रताको पक्षमा सत्य तथ्यमा आधारित जिम्मेवार पत्रकारिताको प्रतिबद्धता राख्दै आएको छ।

अघिल्ला समाचारहरूमा पनि नेपाल मेडिकल कलेजका कर्मचारीहरूलाई व्यवस्थापनद्वारा मानसिक तथा पेशागत दबाब दिएको, ट्रेड युनियनलाई कमजोर पारेको, तथा प्रेस स्वतन्त्रता हनन गर्न खोजेको विषयहरू हामीले उठाउँदै आएका थियौं।

नेपाल आजले यस संवेदनशील विषयमा थप तथ्य संकलन गर्दै जिम्मेवार पत्रकारिताको सिद्धान्तलाई उच्च प्राथमिकतामा राखी आगामी दिनमा थप समाचार प्रकाशित गर्दै जानेछ।

 

थप समाचार पढ्न ‘नेपाल मेडिकल कलेज’ लेखिएको तलको ट्यागमा क्लिक गर्नुहोला।

नेपाल मेडिकल कलेज

संम्बधित खबर