राजनीति

बागमतीमा फेरि शपथ स्थगित: स्वास्थ्य समस्या कि राजनीतिक संकट?

बागमतीमा फेरि शपथ स्थगित: स्वास्थ्य समस्या कि राजनीतिक संकट?

 बागमती प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहण समारोह फेरि स्थगित भएको छ। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको स्वास्थ्यमा अचानक समस्या देखिएपछि आज साउन १५ गते दिउँसो १ बजेका लागि तोकिएको शपथ कार्यक्रम रोकिएको हो।

बागमती प्रदेश प्रमुखको कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख देवकोटा उपचारका लागि बिहानै काठमाडौँ प्रस्थान गरिसकेको जानकारी दिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘‘बागमती प्रदेश सरकारका नवनियुक्त माननीय मन्त्रीज्यूहरूको शपथ ग्रहण समारोह मिति २०८२ साउन १५ गते दिउँसो १ बजेका लागि तय गरिएकोमा माननीय प्रदेश प्रमुखज्यूको स्वास्थ्यमा अचानक समस्या आएपछि अर्को सूचना प्रकाशन नभएसम्मका लागि शपथ कार्यक्रम स्थगित गरिएको छ।’’

यसअघि साउन १४ गते बुधबार बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले तीन सांसदहरूलाई मन्त्री नियुक्त गर्नुभएको थियो। धादिङका गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, चितवनकी माया श्रेष्ठलाई सहकारी मन्त्रालय र गीता गुरुङलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको थियो। मुख्यमन्त्री लामाले बुधबार नै शपथ गराउने तयारी गरे पनि नेकपा एमाले संसदीय दलको सुझावमा कार्यक्रम स्थगित गरिएको थियो। एमालेले हालको संवेदनशील राजनीतिक परिस्थितिमा मन्त्रीमण्डल विस्तार उपयुक्त नहुने धारणा राखेपछि शपथ रोकिएको हो। तर, लामाले शपथ कार्यक्रम सरेर बिहीबारका लागि तय गर्नुभएको थियो।

यसबीच, बुधबार भएको नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनमा बहादुरसिंह लामा पराजित भएका छन्। उहाँका प्रतिस्पर्धी इन्द्रबहादुर बानियाँ विजयी भएका छन्, जसले सत्तासमीकरणमा नयाँ मोड ल्याएको छ। लामाको पराजयसँगै उहाँको नेतृत्वको स्थायित्वमाथि पनि प्रश्न उठ्न थालेको छ।

प्रदेश प्रमुखको स्वास्थ्य समस्या बाह्य कारण हो वा यो पनि दलगत रणनीतिको हिस्सा हो भन्ने प्रश्नहरू उठ्न थालेका छन्। सत्ता समीकरण परिवर्तनको संवेदनशील मोडमा शपथ ग्रहण स्थगन हुनु र राजनीतिक दबाबका संकेतहरू स्पष्ट देखिन थालेका छन्। यस घटनाले बागमती प्रदेशको स्थायित्व र दलहरूबीचको आपसी विश्वासमाथि गम्भीर प्रश्न उठाएको छ। अब शपथ कहिले हुने हो र सरकारको दिशा कतातिर मोडिन्छ भन्ने प्रतीक्षा बढेको छ।