बालुवाटारमा पहिलो त्रिपक्षीय सहमति — सबै दल निर्वाचनमा सहभागी, जेनजी समूहसँग संवाद सुरु
काठमाडौं । आगामी निर्वाचनलाई सफल बनाउन सरकार, प्रमुख राजनीतिक दलहरू र जेनजी पुस्ताका प्रतिनिधिहरूबीच पहिलो औपचारिक त्रिपक्षीय बैठक बुधबार राति बालुवाटारमा सम्पन्न भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको बैठकमा देशमा सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणसँगै स्थिर निर्वाचन वातावरण निर्माणबारे गम्भीर छलफल भएको थियो।
बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले सबै राजनीतिक दलहरूले आगामी निर्वाचनमा सहभागी हुने सहमति जनाएको जानकारी दिए। उनका अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमाले सबैले चुनाव लोकतान्त्रिक अभ्यासको रूपमा स्वीकार गर्दै सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
“सरकारले निर्वाचन र सुरक्षाको वातावरण बनाउन सक्छ कि सक्दैन भन्ने चासो एमालेले राखे पनि, सबै दलहरू चुनावमा सहभागी हुने कुरा स्पष्ट भएको छ,” मन्त्री खरेलले भने।
उनका अनुसार बैठक अत्यन्तै सौहार्दपूर्ण र सकारात्मक वातावरणमा सम्पन्न भएको थियो। “राजनीतिक दल र जेनजी पुस्ताबीच संवादहीनता थियो, आजको औपचारिक छलफलले त्यो अवस्था अन्त्य गरेको छ,” उनले भने।
बैठकमा जेनजी प्रतिनिधिहरूले उठाएका माग र सुझावहरूलाई राज्य नीतिमा कसरी समावेश गर्ने भन्ने विषयमा विस्तृत छलफल भएको पनि खरेलले जानकारी दिए।