समाचार अर्थ

अख्तियारको नजरमा गुल्मी: वर्षभरि उजुरीको थुप्रो

अख्तियारको नजरमा गुल्मी: वर्षभरि उजुरीको थुप्रो

गुल्मी - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा आर्थिक वर्ष २०८१/०८२ मा गुल्मीका १२ वटै स्थानीय तहका १४३ वटा उजुरी दर्ता भएका छन्। भ्रष्टाचार, अनियमितता, प्रशासनिक ढिलासुस्ती लगायतका विषयमा दर्ता भएका ती उजुरीमध्ये १२१ वटा छानबिनपछि फर्छ्यौट गरिएको आयोगका सूचना अधिकारी गिता अधिकारीले जानकारी दिइन्। बाकी २२ उजुरी अझै फर्छ्यौट हुन बाँकी छन्। अधिकारीका अनुसार केही उजुरी अघिल्लो वर्षबाट जिम्मेवारी सरेर यस वर्ष कायम भएका हुन्।

सबैभन्दा धेरै उजुरी इस्मा गाउँपालिकाविरुद्ध परेका थिए। कुल ३३ उजुरीमध्ये २६ फर्छ्यौट भइसकेका छन् भने सात उजुरी बाँकी छन्। त्यसपछि रेसुङ्गा नगरपालिकाका २२ उजुरीमध्ये १८ उजुरी टुंगिएका छन्। मालिका गाउँपालिकाको २१ उजुरीमध्ये १७ उजुरी फर्छ्यौट भएका छन्। त्यस्तै मुसिकोट नगरपालिकाका ११, सत्यवती गाउँपालिकाका सात, धुर्कोट गाउँपालिकाका १०, छत्रकोट गाउँपालिकाका पाँच उजुरी सबै फर्छ्यौट भएको छ।

कालिगण्डकी र रुरुक्षेत्र गाउँपालिकाका ११/११ उजुरीमध्ये नौ/नौ उजुरी फर्छ्यौट भएका छन्। मदाने गाउँपालिकाको आठ उजुरीमध्ये छ फर्छ्यौट भएको छ भने बाँकी दुई बाँकी छन्। गुल्मीदरबार गाउँपालिकाको दुई उजुरीमध्ये एक फर्छ्यौट भएको छ। चन्द्रकोट गाउँपालिकाका दुई उजुरी सबै फर्छ्यौट भएका छन्।

अघिल्लो वर्ष २०८०/०८१ मा आयोगमा २६४ उजुरी दर्ता भएका थिए। तीमध्ये २१५ उजुरी टुंग्याइएको थियो भने ४९ उजुरी यो वर्षमा सारिएका थिए। अख्तियारका अनुसार कतिपय उजुरीमा विभिन्न निकायलाई कारबाही र सुझावसहित कार्यान्वयनका लागि पत्राचार गरिएको छ। यसले स्थानीय तहमा अझै पनि भ्रष्टाचारजन्य गतिविधि र नागरिक असन्तुष्टि रहेको देखिन्छ।