समाचार

"सडक छ तर यात्रा छैन’ : बेनी–जोमसोम मार्गमा यात्रुको पीडा"

"सडक छ तर यात्रा छैन’ : बेनी–जोमसोम मार्गमा यात्रुको पीडा"

गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको बेनी–जोमसोम–कोरला सडक खण्डअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–४ स्थित घोप्टेभिरमा सुख्खा पहिरो खस्दा शनिबार बिहानदेखि सडक अवरुद्ध भएको छ। केही घण्टापछि एकतर्फी रुपमा सञ्चालनमा आए पनि यसअघि मात्रै चार पटक यही ठाउँमा सडक अवरुद्ध भइसकेको थियो।

उपल्लो मुस्ताङ जोड्ने कागबेनी–कोरला सडकको कागखोला, ताङ्वे खोला र मुस्ताङ गेट आसपास क्षेत्रमा बारम्बार बाढी र पहिरोका कारण यात्रुहरु सास्ती खेपिरहेका छन्। वर्षा हुने बित्तिकै खोला उर्लिने र सडक बन्द हुने क्रमले बारम्बार अवरोध सिर्जना गर्छ।

बारागुङ मुक्तिक्षेत्र–३ छुसाङ हुँदै उपल्लो मुस्ताङ जाने यात्रुहरू, विशेषगरी लोमान्थाङ र लो–घेकरदामोदरकुण्ड क्षेत्रका स्थानीय बासिन्दाहरूलाई मनसुनको अवधिमा पाँच पटकसम्म वैकल्पिक जोखिमपूर्ण मार्ग रोज्न बाध्य बनाइएको छ। विगतमा सामान्य वर्षा हुने मुस्ताङमा पछिल्ला वर्षमा जलवायु परिवर्तनका असर देखिन थालेको र नियमित वर्षाले बाढीपहिरोको समस्या बढाएको वडा अध्यक्ष कर्म घ्यचो गुरुङले बताउनुभयो।

कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडक आयोजना बाढी र पहिरोपछि डोजर परिचालन गर्दै आए पनि दैनिक पाँचदेखि सात घण्टासम्म सडक अवरुद्ध हुने गरेको छ। सडक आसपासको भूगोल भिरालो, कमजोर भू–संरचना र भूमिगत पानीका कारण झन् संवेदनशील छ। यात्रुले सामान्य वर्षा र हावाहुरीमा पनि ढुङ्गामाटो खस्ने डरका कारण ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने यात्रु रविन सुबेदीको भनाइ छ।

सबैभन्दा जोखिमयुक्त क्षेत्र म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङको थासाङ गाउँपालिका सिमानाको घाँसा क्षेत्रलाई मानिन्छ। सडकमा रातको समयमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गरिसकेको छ।