विचार

दक्षिण अफ्रिकामा एक हजार अवैध खानी मजदुर पक्राउ, प्रहरीको सातदिने अपरेशन सफल

दक्षिण अफ्रिकामा एक हजार अवैध खानी मजदुर पक्राउ, प्रहरीको सातदिने अपरेशन सफल

दक्षिण अफ्रिकाको म्पुमालांगा प्रान्तस्थित बार्बरटन गाउँ नजिकको अवैध सुन खानीमा प्रहरीको सातदिने अपरेशनपछि करिब एक हजार अवैध आप्रवासी मजदुरहरू पक्राउ परेका छन्।

प्रहरीका अनुसार वर्षौंदेखि गोप्यरूपमा सञ्चालन हुँदै आएको खानीमा लुकेर काम गरिरहेका मजदुरहरूलाई खानी घेराबन्दी गरेर आपूर्ति रोक्दै बाहिर आउन बाध्य बनाइएको हो। प्रहरी प्रवक्ता डोनाल्ड म्ड्लुलीले खानीभित्र अझै केही मजदुर लुकेका हुनसक्ने बताउँदै उनीहरू सतहमा निस्कनासाथ नियन्त्रणमा लिइने जानकारी दिनुभयो।

खानी सञ्चालक कम्पनी बार्बरटन माइनसका अनुसार घाटाका कारण कर्मचारी हटाइएपछि खानी क्षेत्रमा स्थानीय आक्रोश बढेको थियो। त्यसपछि भित्रैबाट अवैध रूपमा खानी सञ्चालन भइरहेको पत्ता लागेपछि कारबाही गरिएको हो। कम्पनीका अनुसार खानीभित्र खाद्यान्न र अन्य सामग्रीहरू लुकीछिपी पुर्‍याइँदै आइएको थियो।

अपरेशन सफल भएको प्रहरीको भनाइ छ भने अहिलेसम्म कुनै मानवीय क्षति नभएको बताइएको छ। गत वर्ष जोहान्सबर्ग नजिकै यस्तै कारबाहीमा ९० जनाको ज्यान गएको थियो।