राजनीतिक विकृतिमाथि प्रहार : पूर्व राष्ट्रपति यादवको शिक्षामा निष्ठाको जोड

पूर्व राष्ट्रपति डा. रामवरण यादवले वर्तमान शिक्षामा राजनीतिक आदर्श र निष्ठाको समावेश अत्यावश्यक भएको धारणा व्यक्त गर्नुभएको छ। शनिबार काठमाडौँमा आयोजित ‘म र मेरो भन्दा माथि नेपाल आमा तथा नेपाली सन्तान’ भन्ने मूल नाराका साथ प्रकाशित स्मृति ग्रन्थको लोकार्पण कार्यक्रममा उहाँले यस्तो विचार व्यक्त गर्नुभयो।
तनहुँका प्रसिद्ध राजनीतिक तथा सामाजिक व्यक्तित्व स्व. तारापति भट्टराईको स्मृतिमा तारापति स्मृति प्रतिष्ठानले आयोजना गरेको सो कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति यादवले भन्नुभयो, “संसारले अभ्यास गरेको उन्नत लोकतान्त्रिक मूल्य प्रणाली हामीले पनि अपनाएका छौं। तर केही विकृति देखिन्छन्। अहिले राम्रा कुराहरूको चर्चा हुँदैन, केवल नराम्रा कुरा मात्रै उठ्छन्। त्यसैले राम्रा कामको प्रवर्द्धन गर्दै विकृतिलाई सच्याउँदै जानुपर्छ।”
उहाँले अग्रज नेताहरूको निष्ठा र आदर्शबाट वर्तमान पुस्ताले शिक्षा लिनु पर्नेमा जोड दिनुभयो। कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, राष्ट्रिय सभा सदस्य पदम परियार, गण्डकी प्रदेशसभा सदस्य अशोक श्रेष्ठ र जितप्रकाश आले, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, शुक्लागण्डकी नगरका प्रमुख कृष्णराज पण्डित लगायतका वक्ताहरूले जनताको माझमा बसेर प्रजातन्त्र प्राप्त गर्ने अभियानका कुशल पथ प्रदर्शकका रुपमा चर्चा गर्नुभयो।
पूर्वमन्त्री अर्जुननरसिंह केसी, शंकर भण्डारी, डा. रामचन्द्र अधिकारी, नरहरि आचार्य, संविधानसभा सदस्य रामेश्वर पाखरेलजस्ता विशिष्ट व्यक्तित्वहरूले तनहुँको विकासका लागि तारापति भट्टराईले देखाएको योजनालाई आज पनि मार्गदर्शक मानेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो।
स्व. भट्टराईका समकालीन नेता गोपीबहादुर गुरुङसहित अन्य वक्ताहरूले उहाँको राजनीतिक, सामाजिक तथा आध्यात्मिक योगदानको चर्चा गर्दै उहाँलाई एक निःस्वार्थ राष्ट्रसेवकका रूपमा चित्रित गर्नुभयो। कार्यक्रमका आयोजक तथा प्रतिष्ठान अध्यक्ष महेश्वर भट्टराईले तारापति भट्टराईको सपना विभेदरहित समाज निर्माण गर्नु रहेको उल्लेख गर्दै आजको राजनीतिक परिदृश्यमा उहाँको विचार अझ सान्दर्भिक भएको धारणा राख्नुभयो।