विद्या भण्डारीसम्म परिचालित? एमालेविरुद्ध ‘फेक खेल’ भुइँमान्छेले मात्र सहने कि अब प्रतिवाद?

लेखक: रामप्रसाद रिजाल
नेपालको राजनीति फेरि त्यही पुरानो रोगतर्फ फर्किएको छ—विश्वासघात, व्यक्तिगत महत्वाकांक्षा र टुक्रे–टुकडीको खेल। अहिले एमालेमाथि जसरी चौतर्फी आक्रमण भइरहेका छन्, त्यहाँ देखिने मुख्य पात्रहरू पुराना अनुहार नै हुन्। बामदेवबाट सुरु भएको, माधब कुम्मर नेपाल - झलनाथमार्फत दोहोरिएको, र अहिले विद्या भण्डारीसम्म आइपुगेको यो कडीले एउटा कुरा प्रमाणित गर्छ—एमालेलाई कमजोर पार्ने डिजाइन दशकौँदेखि निरन्तर चलिरहेको छ। तर समयमै परिस्थितिलाई चिनेको नेतृत्व र कार्यकर्ताको सतर्कताले पार्टीलाई अझ मजबुत र एकताबद्ध बनाउँदै लगेको छ।
पूर्वराष्ट्रपति भण्डारीले एमाले विरोधीहरूसँग हातेमालो गर्दै नयाँ टुकडी निर्माणको तयारी गरिरहेकी छन् भन्ने आभास कार्यकर्तामाझ फैलिएको छ। "क्रान्तिकारी"को आवरणमा साना टुक्रेहरूसँग मिलेर वैकल्पिक अभियान सुरु गर्ने संकेतहरू खुलेरै देखा पर्न थालेका छन्। यता एमाले निकट वृत्तले यसलाई गोर्बाचोभ शैलीको "प्रयोग" भन्दै राष्ट्र र पार्टीलाई कमजोर पार्ने अर्को खेलको रूपमा बुझ्छ। तर भुइँमान्छे कार्यकर्ताले खुलेर प्रश्न गरेका छन्—पार्टीमाथि प्रहार भइरहँदा प्रतिवादमा नेतृत्वले मात्रै हैन, हामी सबै किन खडा नहुने?
आजको युग रातिराति पार्टी दर्ता गरेर छलफल बिना बनाउने जमाना होइन। प्रविधिले सबैलाई अनिवार्य रूपमा जिम्मेवार बनाएको छ। सामाजिक सञ्जालमा हरेक कार्यकर्ता निगरानीमा छन्—नेतासँग फोटो खिचेको देखाउने मात्रै कि आक्रमणविरुद्ध आवाज उठाउने? यही नयाँ मूल्यांकनको आधार बन्नुपर्ने माग चिया–चौतारीदेखि मेलापातसम्म गुञ्जिएको छ। अध्यक्ष ओलीमाथि "दाहसंस्कार" सम्मको अपमानजनक भिडियो बने पनि केही कार्यकर्ताको मौनताप्रति प्रश्न उठाइँदैछ।
ओलीले आफ्नो राजनीतिक यात्रामा छिमेकीको दबाबदेखि भूकम्प, महामारी, रोग, र आफ्नै पार्टीभित्रका दाउपेचहरूसँग लगातार जुधेका छन्। पहिलो कार्यकालमा भारतको नाकाबन्दीसँग लडे; दोस्रो कार्यकालमा भूकम्पको क्षतिबाट देशलाई उठाए; तेस्रो पटकमा कोरोना महामारीको चपेटा कम गर्न सफल भए; र व्यक्तिगत रूपमा किड्नी प्रत्यारोपणजस्तो जीवनमरणको संघर्षमा समेत विजयी भए। आज चौथो पटक प्रधानमन्त्री हुँदा फेरि उनीमाथि कृत्रिम आरोप, चौतर्फी प्रहार, र नियोजित बदनामी अभियान सुरु छ। तर विडम्बना के भने, यसबेला पनि भिडमा उभिनुपर्ने भुइँमान्छे कार्यकर्तामात्र देखिन्छन्, नेतृत्वसँग फोटो खिच्नमा तछाडमछाड गर्नेहरू प्रतिवादमा मौन।
सामाजिक सञ्जालमा नियोजित निराशा फैलाउने समूह सक्रिय छन्—दर्जनौँ स्ट्याटस, भिडियो र "फेक आइडी" मार्फत। अमेरिकाजस्ता देशमा बसेर नेपालमै सबै कुरा बिग्रिएको चित्रण गर्ने प्रयास गर्ने अनुचरहरूको स्रोत अझै शंकास्पद छ। यसलाई सामान्य सामाजिक असन्तोष मान्ने कि मुलधार राजनीतिलाई कमजोर बनाउने सुनियोजित रणनीति भन्ने प्रश्न खुलेआम उठ्न थालेको छ।
एमाले विरोधीहरूले हरेक पटक पार्टी चोइटाउने प्रहार गरे, तर नतिजा उल्टै पार्टी अझै शुद्ध र बलियो बन्दै गयो। आज विद्या भण्डारीलाई परिचालन गर्ने यो नयाँ कसरत पनि अन्ततः एमालेलाई थप एकताबद्ध गर्ने दिशामा पुग्ने सम्भावना प्रबल छ। किनकि ओलीलाई कमजोर बनाउने अभियान बारम्बार विफल भएको छ, तर त्यस्ता आक्रमणलाई प्रतिवाद गर्न हर स्तरका कार्यकर्ताले आफ्ना भूमिका पुनर्विचार गर्ने बेला भने आइसकेको छ।
नेपालको राजनीति फेरि निर्णायक मोडमा छ—स्वाभिमान बचाउने नायकलाई सिध्याउने वा भुइँमान्छे कार्यकर्ताको प्रतिरोधमार्फत मुलधार दललाई अझ बलियो बनाएर इतिहासमा नयाँ अध्याय लेख्ने। समयले छिट्टै यसको जवाफ दिनेछ।
रामप्रसाद रिजाल नेकपा एमालेका युवा नेता हुन्।