समाचार

सस्तो स्वादको लत! करेन्ट चाउचाउले बालबालिका र नयाँ पुस्तालाई ‘रसायनका गुलाम’ बनाउँदै

"करेन्ट चाउचाउमा लत लाग्ने रसायन? बालबालिका र बिरामीको स्वास्थ्यमा बढ्दो खतरा"

सस्तो स्वादको लत! करेन्ट चाउचाउले बालबालिका र नयाँ पुस्तालाई ‘रसायनका गुलाम’ बनाउँदै

नेपालको चाउचाउ बजारमा हालैका वर्षहरूमा सबैभन्दा चर्चित बनेको ब्रान्ड करेन्ट चाउचाउ अहिले स्वास्थ्यसम्बन्धी विवादमा तानिएको छ। कोभिड–१९ पछि कोरियन रामेन आयात बन्द हुँदा यशोदा फुड्सले सस्तो मूल्यमा कोरियनजस्तै स्वाद दिने उत्पादन बजारमा ल्यायो, जसले युवापुस्तामा असाधारण लोकप्रियता हासिल गर्‍यो। तर यसको स्वाद बढाउन प्रयोग गरिएका रसायन—Monosodium Glutamate (E621), Disodium Guanylate (E627) र Disodium Inosinate (E631) मिलेर बनेको I+G— कानूनी सीमा ५०० mg/kg (०.०५%) भन्दा बढी प्रयोग भएको दाबीले उपभोक्तामा चिन्ता बढाएको छ। विशेषज्ञहरूले यस्ता रसायन दीर्घकालीन रूपमा शरीरमा असर गर्ने, विशेष गरी बालबालिका र बिरामीहरूका लागि खतरनाक हुने चेतावनी दिएका छन्। कतिपय चिकित्सकहरूले यसलाई सिगरेट, तमाखु, मदिरा वा लागूपदार्थ जस्तै बानी बस्ने लत लाग्ने पदार्थसँग तुलना गर्दै बारम्बार सेवन गर्नाले निर्भरता बढ्ने तर्क गरेका छन्।

उपभोक्ता व्यवहारमा पनि यसका संकेत देखिन थालेका छन्। सामाजिक सञ्जालमा धेरै युवाले भातसँगै दाल र तरकारीको सट्टा करेन्ट चाउचाउ मिसाएर खाने गरेको उल्लेख गरेका छन्, जसले दिनहुँ सेवन हुने मात्रा अनुमति भन्दा धेरै बढाइदिन्छ। खाद्य प्रविधि विज्ञहरूले यस्तो प्रवृत्ति निरन्तर रहँदा पेट, मिर्गौला, नशा प्रणाली र मुटुमा समस्या देखिन सक्ने बताएका छन्। तर यशोदा फुड्सले भने आफ्ना उत्पादनलाई “गुणस्तरीय र सुरक्षित” दाबी गर्दै, चाउचाउमा प्रयोग हुने मसलामा नेपालको पहाडी भेगमा पाइने डल्ले (अकबरे) खुर्सानी प्रयोग हुने, जुन स्वादिलो मात्र नभई स्वास्थ्यका लागि लाभदायक हुने बताएको छ। कम्पनीका प्रवक्ताले, “हामीले बजारमा विदेशी उत्पादनलाई प्रतिस्थापन गर्न सक्ने नेपाली ब्रान्ड दिन सफल भएका छौं। अकबरे खुर्सानीले यो चाउचाउलाई प्राकृतिक स्वाद दिएको छ,” भनेका छन्।

यशोदा फुड्सले चाउचाउसँगै स्थानीय कृषकलाई सशक्त बनाउन अग्रिम लगानी गरेर अर्घाखाँची, गुल्मी, पाल्पा र हेटौंडामा खुर्सानी उत्पादनलाई प्रोत्साहन गरिरहेको तथ्य पनि नजरअन्दाज गर्न सकिँदैन। कृषकहरूले ग्यारेन्टीका साथ बिक्री हुने भएकाले आय आर्जनमा फाइदा पाएको बताएका छन्। यसले ग्रामीण अर्थतन्त्रमा सकारात्मक योगदान पु¥याएको देखिन्छ। तर यो योगदान र रोजगार सिर्जनाका प्रयासका बाबजुद स्वास्थ्यसम्बन्धी चिन्ताले भने ठूलो प्रश्न उठाएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यसबारे आधिकारिक परीक्षण नतिजा सार्वजनिक नगरेसम्म ठोस निष्कर्ष निकाल्न सकिँदैन। तर सार्वजनिक स्वास्थ्यका विज्ञहरूले उत्पादनमा प्रयोग हुने स्वादवर्धक रसायनको स्तर पारदर्शी बनाउन आग्रह गरिरहेका छन्। यसबीच कम्पनीले अनलाइनमा फैलिएका ‘हानिकारक’ भन्ने प्रचारलाई “भ्रामक र तथ्यहीन” भन्दै आपत्ति जनाएको छ।

एकातिर किसानलाई सहयोग गर्ने, सस्तो मूल्यमा नेपाली उत्पादनलाई विश्वबजारसम्म पुर्‍याउने प्रयास; अर्कोतिर स्वास्थ्यमा दीर्घकालीन असरको जोखिम—यस द्वन्द्वबीच करेन्ट चाउचाउलाई नियमन, अनुसन्धान र पारदर्शिता कसरी लागू गरिन्छ भन्ने प्रश्नले अब सरकार र नियामक निकायलाई गम्भीर चुनौती दिएको छ।